काठमाडौ, असार ३० (हाकाहाकी)—कोरोना भाइरसको कहरका समयमा विश्वभर स्वास्थ्यकर्मीहरूको बोली बन्द गराउने, जोखिममा पार्ने र आक्रमण गर्ने काम भएको एम्नेष्टी इन्टरनेशनलले जनाएको छ ।
एक प्रतिवेदन सार्वजनिक गर्दै एम्नेष्टी इन्टरनेसनलले कोभिड १९ बाट संरक्षण प्रदान गर्न नसकी स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाकर्मीको मृत्युमा सरकारहरूलाई जवाफदेही बनाइनुपर्ने जनाएको छ ।
कोभिड १९ का कारण संसारभरका तीन हजारभन्दा बढी स्वास्थ्यकर्मीले ज्यान गुमाउनुपरेको भन्दै सुरक्षा जोखिमका कुरा उठाउने स्वास्थ्यकर्मीलाई गिरफ्तार गर्ने, हिरासतमा राख्नेदेखि धम्की र निष्कासनसम्मका प्रतिशोध सामना गर्नुपरेको एम्नेस्टीले जनाएको छ ।
तीन हजारभन्दा बढी स्वास्थ्यकर्मीको मृत्यु भएकामा सबैभन्दा धेरै रसिया ५४५, अमेरिकामा ५०७, बेलायत २६२ सामाजिक सेवाकर्मीहरू सहित ५४०, ब्राजिल ३५१, मेक्सिको २४८, इटली १८८, इजिप्ट १११, इरान ९१, इक्वेडर ८२ र स्पेन ६३ रहेको एम्नेष्टीले उल्लेख गरेको छ ।
एम्नेस्टी इन्टरनेसनलले सर्भे गरेको ६३ देश र भुभागमध्ये प्रायः सबै ठाउँका स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षात्मक सामग्रीको गम्भीर अभाव झेलेको पाइएको जनाएको छ । यो अवस्था भारत र ब्राजिल लगायत अफ्रिकाका थुप्रै देशमा अझै देखिन बाँकी रहेको पनि उसले जनाएको छ ।





