मध्यपूर्वी तराईमा बाढिमा जनजीवन अस्तव्यस्त

काठमाडौ, असार २८ (हाकाहाकी)— नियमित बर्षाले गर्दा मध्यपूर्वी तराईको जनजीवन अस्तव्यस्त भएको छ ।

असार मध्यदेखि लगातार पानी पर्दै आए पनि पछिल्लोपटक गएको बुधबारयता मुसलधारे वर्षाले महोत्तरीका नदीमा बाढी उर्लेसँगै जताततै जलाम्य बनाएपछि जनजीवन अस्तव्यस्त छ ।

महोत्तरीका रातु, बडहरि, अङ्कुशी, मरहा, जङ्घा, भब्सी र बाँकेलगायतका नदीमा उर्लेको बाढीले कटान र डुबान बढाउँदै लगेको छ । पछिल्ला चार दिनयता बाढीको पानी गाउँ नगर बस्तीमा पसेपछि जताततै जलाम्य बनेको हो ।
यसैविच, पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं. १, २ र ४ नम्बर वडाका करिब तीन दर्जन घरहरु डुबानमा परेका छन् । केही दिनयता परिरहेको पानीका कारण खोल्सा र नालाहरुमा आएको बाढीले निकास नपाउँदा घरहरु डुबानमा परेका हुन् । कतिपय स्थानमा पूर्वपश्चिम राजमार्ग र धान–मकै बाली पनि डुबेका छन् ।

यसैगरी झापाको कनकाई नदीको भंगालो बस्तीमा पस्दा शिवसताक्षी नगरपालिका वार्ड नं ६ का १५ घर परिवारका सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ ।

उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय शिवगञ्जमा राखिएको छ । कनकाई नदीको बाँध फुटेर भंगाली बस्तीमा पसेको हो ।

अविरल बर्षाका कारण आएको बाढीले कनकाई नदीको बहावले खतराको लेवल पार गरिसकेको छ। नदी आसपासका क्षत्रे डुवान तथा कटानको खतरामा पर्दै गएका छन् । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, प्रहरी उपरीक्षक कृष्ण कोइराला तथा रेडक्रस झापाका सभापति लोकराज ढकाललगायतको टोली उद्धारका लागि डुवान क्षेत्रमा गएका छन् ।

यसैबिच, लगातारको वर्षापछि आएको बाढीले पोल ढाल्दा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । उदयपुरको त्रियुगाखोलामा आएको बाढीले गाईघाट–दिक्तेल ३३ केभी प्रसारण लाइन विद्युतको दुई पोल ढालेपछि हिजो दिउँसोदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको हो ।

विद्युत् आपूर्ति अवरुद्ध हुँदा खोटाङसहित तीन जिल्लाका हजारौँ उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् । तीनवटै जिल्लामा अहिले विद्युतीय उपकरण, सञ्चारमाध्यम, व्यापार–व्यवसायलगायत प्रभावित भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार