काठमाडौ, असार १२ (हाकाहाकी)– अबको तीन दिन देशभर मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविदको आग्रह छ ।
देशभर सबै प्रदेशहरुमा आजको मौसममा पूर्ण बदली रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अधिकांश स्थानमा हल्का देखि भारी वर्षा हुने सम्भावना छ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने संभावना रहेको मौसमविदले बताएका छन् ।
आजराति देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । ठूलो पानी पर्ने ठाउँका नदी र खोलामा बाढी आउने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
नियमितजसो वर्षा भएकाले देशका खोला, नाला, नदीहरूमा बाढी आउन थालिसकेको छ । मौसमविद्का अनुसार जमिन गलिसकेको हुँदा थोरै पानीले पनि धेरै असर गर्नसक्छ । यसले बाढी, पहिरो, डुबान र कटानको सम्भावना अधिक हुन्छ ।
कन्काई, कोशी, राप्तीमा सतर्कता तहसम्म पुग्नसक्ने बाढी पुर्वानुमान महाशाखाले जनाएको छ । ठूला नदीमा बहाव बढ्दो क्रममा रहे पनि आजको मितिसम्म नदीअनुसार दुईदेखि चार मिटरसम्म बहाव तलै रहेको जलविज्ञको भनाइ छ । सीमा क्षेत्र र तराईका खहरे, साना खोला एक्कासी उर्लेर आउने र क्षति पु¥याउने सम्भावना कायमै रहेकाले तीन दिन सतर्कता अपनाउनुपर्ने विज्ञको सुझाव छ ।