काठमाडौ, असार ८ (हाकाहाकी)– सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट ठूलो संख्यामा नेपाली फर्किएका छन ्। नेपालमा सबैभन्दा धेरै भारतबाटै फर्किएकामा कोरोना संक्रमण देखिएको छ ।
नेपालमा कोरोनाको बढी जोखिम भारतबाटै आउने नागरिकका कारण रहेको सरकारी अधिकारीहरुको आकलन छ । तर लकडाउनकै बीचमा भारतबाट २ लाख ६२ हजार ९ सय ६ जना नेपाली घर फर्केका छन्।
कोरोना जोखिम व्यवस्थापन समिति (सीसीएमसी) का अनुसार लकडाउन सुरु भएपछि असार ७ गतेसम्ममा २ लाख ५५ हजार ४ सय २८ जना भारतबाट नेपाल फर्किएका छन् ।
जेठ र असारमा दैनिक कम्तीमा १३ सयदेखि १५ हजारसम्म फर्किएका छन्। हिजो सबैभन्दा कम १३ सय ४६ जना फर्किएका हुन् । यसरी फर्किनेमा प्रायः चार वटा प्रदेशका नागरिक रहेको पाइएको छ । सबैभन्दा धेरै सूदुरपश्चिम प्रदेशबाट र कम प्रदेश १ बाट आएका छन्।
प्रदेश १ बाट जेठयता १२ हजार १ सय ५५ जना नेपाल प्रवेश गरेका छन्। तर त्यही समयमा सूदुरपश्चिम प्रदेशका नाकाबाट १ लाख १९ हजार ९ सय जना नेपाल प्रवेश गरेको सरकारको तथ्यांक छ । यस्तै प्रदेश २ बाट ३० हजार ७ सय ८९ जना र प्रदेश ५ बाट ९२ हजार ५ सय ८४ जना नेपाल प्रवेश गरेका छन् ।
यस्तै, लकडाउन सुरु भएपछि एक लाख बढी भारत गएको पाइएको छ । ढुवानीका चालक र सहचालक समेत गरी १ लाख ६ हजार ५ सय ४३ जना नेपालबाट भारत गएका छन् । भारतबाट नेपाल प्रवेश गर्नका लागि पशुपतिनगर, काकडभिट्टा, रानी, कुनौली, ठाडी, माडर, भित्तामोड, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर, बेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह नाका तोकिएका छन् । यस्तै सुरजपुर, गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला बाट पनि नेपाली प्रवेश गर्न पाउने छन् ।