Thursday, October 31, 2024

स्वास्थ्य उपकरण खरिदमा असम्बन्धित व्यक्तिलाई किन संलग्न गराइयो ? : सार्वजनिक लेखा समिति

काठमाडौ, असार ८ (हाकाहाकी)– स्वास्थ्य मन्त्रालयले कोरोना रोकथामका लागि स्वास्थ्य उपकरण खरिद प्रकरणमा असम्बन्धित व्यक्तिलाई संलग्न गराएर अख्तियारको दुरुपयोग गरेको आशंका सार्वजनिक लेखा समितिले गरेको छ ।
खरिद प्रकरणमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र विज्ञ सल्लाहकार डा. खेम कार्कीको भूमिका शंकास्पद देखिएको सार्वजनिक लेखा समितिका सदस्यहरूले सोमबार बताएका छन् । सार्वजनिक खरिद ऐनलाई बेवास्ता गर्दै सल्लाहकारलाई खरिद प्रक्रियामा संलग्न गराएको लेखा समितिको आरोप छ ।
समितिका सभापति भरत शाहले मन्त्री ढकालले मन्त्रालयको विज्ञ सल्लाहकारलाई खरिद प्रक्रियामा सामेल गराउनु अनुचित रहेको भन्दै बैठकमा यो विषय उठाउनुभएको थियो । यस्तै खरिद कार्यमा संलग्न विज्ञ स्वास्थ्य सल्लाहकारलाई खरिद प्रक्रियामा संलग्न गराउने आधार पेश गर्न नसकेको र खरिद ऐनमा व्यवस्था भएको मूल्याङ्कन समितिको कुनै भूमिका नदेखिएको उहाँले बताउनुभएको छ ।

विशेष गरी यसमा विभागीय प्रमुखले खरिद प्रक्रियामा नेतृत्व गर्नुपर्नेमा अन्य असम्बन्धित व्यक्तिलाई संलग्न गराई अख्तियारको दुरुपयोग गरेको विषय छलफलमा उठेको थियो ।
सभापति शाहले स्वास्थ्य मन्त्रालयले ओम्नी बिजनेस प्रालि (ओबीसी)आई प्रालि अर्थात् ओम्नीमार्फत खरिद गरेको सामग्री होस् वा नेपाली सेनामार्फत गरिएको खरिद, दुवैमा नीतिगत तथा आर्थिक भ्रष्टाचार भएको बताउनुभएको छ ।

आफ्नो कुरा राख्ने क्रममा समिति सदस्य मोहम्मद इश्तिहाक राईले खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐनको धज्जी उडाएको बताउनुभयो । उहाँले नेपाली सेनालाई खरिद गर्न दिने वा नदिने विषय मन्त्रिपरिषद्ले निर्णय गरे÷नगरेको पनि सरकारले स्पष्ट गराउन नसकेको उल्लेख गर्नुभयो ।

त्यस्तै अर्का सदस्य डा. मीनेन्द्र रिजालले सरकारले अहिले कुन बाटो हिँड्न खोजेको हो, त्यो नै स्पष्ट नभएको बताउनुभएको छ । मन्त्रालयले नै दिएको विवरणमा वस्तुको मूल्यसूची अर्थात् कोटेसन लिँदा लेटरहेड नभएको तथा वस्तुको मूल्य मात्रै रहेको कागजलाई पास गरेको देखिएको डा. रिजालले बताउनुभएको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागको सुझाव अनुसार औषधि व्यवस्था विभागले सामग्रीको गुणस्तर अनुमान गर्नुपर्ने सुझाव दिएको तर औषधि व्यवस्था विभागबाट अनुगमन नगरी नगराई सामग्री उपयोग गरेको, र जनस्वास्थ्य प्रयोगशालामा सामग्रीको परीक्षण नभएको लगायतका कार्यहरु प्रारम्भिक अध्यनबाट देखिएको सभापति शाहले बताउनुभएको छ । संसदमा उठेको प्रश्नको जवाफ दिँदै सचिव लक्ष्मण अर्यालले भने सरकारले खरिद प्रक्रियाअनुसार नै सामान खरिद गरेको र सेनालाई जिम्मेवारी दिँदा पनि ऐनमा नै उल्लेख भएको विपदमा सेनालाई परिचालन गर्नसकिने व्यवस्थाअनुसार लगाइएको बताउनुभयो ।सल्लाहकारलाई खरिद प्रक्रियामा संलग्न गराइएको विषयमा भने स्वास्थ्य सल्लाहकार कार्कीले आफूलाई फसाउन खोजेको दाबी गर्नुभएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार