Thursday, October 31, 2024

मनसुन देशभर सक्रिय, नदीको सतह र वहाव बढ्ने चेतावनी

काठमाडौ, असार ८ (हाकाहाकी)– मनसुनी गतिविधि देशभर नै सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नियमित बर्षाका कारण देशका धेरै नदीहरुमा पानीको वहाब बढ्ने र उडानहरु प्रभावित हुने महाशाखाको अनुमान छ ।
पूर्वबाट जुन १२ मा प्रवेश गरेको मनसुन अब सुदूरपश्चिमसम्म पनि पुगेको मौसमविद मिनकुमार अर्यालले बताउनु भएको छ । आइतबार बेलुकादेखि पश्चिमी वायुलाई पूर्वी मनसुनी वायुले धकेलेको छ र सो क्षेत्रमा पनि मनसुन प्रवेश गरेको छ जसले गर्दा देशभर मनसुन सक्रिय भएको हो ।

देशभर नै मनसुनी झरी परिरहेको छ । हाल अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै क्षेत्रमा पानी परिरहेको मौसमविद अर्यालले बताउनु भयो । देशका धेरै स्थानमा रातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।
सोमबार दिनभर पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, प्रदेश ५, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले जानकारी दिनु भएको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ ।

विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना पनि रहेको जनाइएको छ । यस्तै ढल र पानीको राम्रो निकाश नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार