काठमाडौ, जेठ ३० (हाकाहाकी)– भारतमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा नफैलिएको त्यहाँको एक अनुसन्धानबाट पत्ता लागेकोे छ ।
राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा भारतको एक संस्था इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च काउन्सिलले यो कुराको जानकारी दिएको हो ।
यो संस्थाका डिजी बलराम भर्गवले भारतमा समुदायस्तरमा कोरोनाको भाइरस फैलिएको नपाएको आज दिल्लीमा आयोजित एक पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो ।
उहाँले भारतमा निकै कम समयमा मात्र कोरोना भाइरस फैलिएको पाइएको पनि एक अनुसन्धानबाट देखिएका बताउनुभयो।
उहाँले भारतका ग्रामीण तहा साना जिल्लाहरुमा कोरोनाको संक्रमण दर एक प्रतिशत मात्र रहेको र सहरमा यसको संक्रमण दर एक प्रतिशतभन्दा केही मात्र बढी देखिएको बताउनुभयो । तर भारतको जनसंख्या धेरै रहेकोले यदि समुदायमा फैलिन थालेमा यसबाट ठूलो क्षति हुने पनि बताउनुभयो ।
यसैकारणले पनि भारत सरकारले कोरोना भाइरसको परीक्षणको दायरालाई अझ व्यापक बनाउनुपर्ने जानकरी दिनुभयो । उहाँले अहिले भारतमा हरेक दिन एक लाख ५० हजार जनाको परीक्षण गर्ने गरिएको बताउनुभयो ।