Friday, November 1, 2024

सरकार विरुद्ध शुक्रबार पनि देशभर प्रर्दशन

काठमाडौ, जेठ ३० (हाकाहाकी)– कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै शुक्रबार पनि काठमाडौँ, ललितपुर, भक्तपुरसहित देशका बिभिन्न जिल्लामा प्रदर्शन भएका छन् ।

केही दिन यता युवाहरुको समूहले स्वतस्फुर्त रुपमा सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

गृहमन्त्रालयले हिजो एक सूचना जारी गर्दै लकडाउनको उल्लंघन गरी प्रदर्शन नगर्न धम्की दिएको थियो । तर गृहको धम्की बेवास्ता गर्दै युवाहरुको समूहले शुक्रबार पनि काठमाडौँको बसन्तपुरमा प्रदर्शन गरेको हो । हिजो नक्सालमा भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको थियो ।

नक्साल क्षेत्रमा ठूलो संख्यामा उपस्थित प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा, लाठी चार्जका साथै अश्रु ग्याससमेत प्रहार गरेको थियो । प्रहरीले प्रदर्शनमा उत्रेका एक युवालाई पक्राउ गरेको छ । विरोध प्रदर्शनमा सहभागी हेमराज थापालाई प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी ललितपुरको जावलाखेलदेखि पुल्चोकबीचको दुवै सडक किनारमा युवायुवतीहरु सरकार विरोधी नारा र प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । दुरी कायम गरी सडकका दुवै किनारमा लामवद्ध थिए । धेरै संख्यामा सुरक्षा परिचालन गरिएको थियो ।
यसैगरी देशका अन्य सहरहरुमा पनि प्रर्दशन भएका छन् । उदयपुरको गाईघाट, गोरखा, दाङ, बुटवललगायतका सहरमा शुक्रबार दिनभर प्रर्दशन भएका छन् । सबै प्रदर्शनमा युवायुवतीको संख्या धेरै देखिएको छ ।

बुटवलमा शुक्रबार पनि सरकारविरुद्ध प्रदर्शन भएको छ । कोराना भाइरसको संक्रमण रोकथाममा सरकारले वास्था नगरेको र खर्चमा पारदर्शिता नभएको भन्दै नागरिकहरु प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनकारीले सबै परीक्षण पीसीआर विधिबाट गर्नु पर्ने, बेसार पानी खाऊ भन्नुको सट्टा उपचार गर्नु पर्ने, खर्च भएको रकम पारदर्शी हुनु पर्ने माग गरेका छन् ।

प्रदर्शनमा उनीहरुले ‘१०० प्रतिशत पीसीआर लागु गर’, ‘असुरक्षित क्वारेन्टिन बन्द गर’, कोरोनाको उपचारचाहियो , पीसीआरचाहियो ’, ‘कुर्सीमुनि कार्पेट, कार्पेटमुनि जनता ?’ लगायतका नारा लगाएका थिए ।बिहीबार काठमाडौंमा बालुवाटार र देशका प्रमुख सहरहरुमा सरकारविरुद्ध प्रदर्शन भएको थियो ।

यसैगरी कोरोना भाइरसको संक्रमण रोकथाम र उपचारमा सरकारले गरेको लापरवाही र बेवास्ता गरेको भन्दै भक्तपुका युवाहरु सरकारको विरोधमा सडकमा उत्रिएका छन् ।
सरकारले कोरोनाको नाममा भष्ट्राचार गरेको र नागरिकको उपचारको सट्टामा राष्ट्रपति कार्यालयमा कार्पेट राखेर नागरिकको स्वास्थ्यलाई वेवास्ता गरेको भन्दै विरोध गरिएको हो ।
यो आन्दोलनमा कुनै राजनीतिक दलको ब्यानर थिएन, आन्दोलनमा सहभागीहरु सामाजिक सञ्जालमा प्राप्त जानकारीको आधारमा सडकमा आएका थिए। आन्दोलन गर्ने युवाहरुको हातमा ग्लब्स, मुखमा माक्स लगाएका थिए। आन्दोलन शान्तिपूर्ण थियो। उपस्थित युवाहरु शान्तिपूर्ण रुपमा प्लेकार्ड बोकेर सामाजिक दूरी कायम गर्दै राजमार्गको दुबै भागमा बसेका थिए।

युवाको हातमा ‘हेप्नी!, भष्ट्राचारी सरकारको पाराले, दुख पायो नेपाली साराले, करकरकर मेरो कमाइमा लाग्छ कर तर दश अर्ब खर्चको केही छैन भर!, के भन्लिन् हाम्री आमाले कुट्यो भन्दा मामाले, सरकारको भष्ट्रमति भो, उठौँ अब अति भो।’ लगायतका व्यङ्ग्यात्मक टीप्पणी लेखिएका प्लेकार्ड समेत बोकेका थिए

सामाजिक सञ्जालबाट जम्मा भएका भिडहरु लगभग १ घण्टामा आफ्नो बाटो लागे तर त्यहा अर्को एक हुल मानिस आए जो धिमे बाजा बजाउदै सरकारको विरुद्धमा नारा लगाए। एक जमातले राष्ट्रिय गीत गाए। अनि नाराबाजी समेत गरेका थिए। प्रहरीको लामो प्रयासपछि प्रदर्शनकारी सल्लाघारीबाट सूर्यविनायकतर्फ लागेपछि आन्दोलन टुङ्गिएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार