काठमाडौ, जेठ २९ (हाकाहाकी)– विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहेको छ ।
फिफाले बिहीबार निकालेको नयाँ वरीयतामा नेपाल १ सय ७० औं स्थानमा रहेको छ । गत महिना नेपाल १ सय ७० औं स्थानमै रहेको थियो । नेपाल, दक्षिण एसियाली राष्ट्रमा भने तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् ।
भारत १ सय ८ औं स्थानमा रहेको छ । यस्तै माल्दिभ्स १५५ औं स्थानमा रहेको छ । नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ ।
भुटान १८९ औं, बंगलादेश १८७ औं, श्रीलंका २ सय ६ औं र पाकिस्तान २०० औं स्थानमा रहेका छन् । कोरोना भाईरसको संक्रमणपछि गएको मार्चबाट अन्तर्राष्ट्रिय फुटबल ठप्प रहेको छ । जसको कारण नेपालले अन्तर्राष्ट्रिय खेल खेलेको छैन ।
अन्तर्राष्ट्रिय खेल नभएपछि नेपालसहित सबै राष्ट्रको वरियता यथावत रहेको छ । नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम रहेको छ ।
यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा उरुग्वे रहेका छन् ।यस्तै क्रोएसिया छैटौं, पोर्चुगल सातौं, स्पेन आठौं, अर्जेन्टिना नवौ र कोलम्बिया दशौं स्थानमा रहेका छन् ।