काठमाडौ, जेठ २९ (हाकाहाकी)— कोरोनाका कारण बल्लबल्ल सामान्य बन्दै गरेको चीनको जनजीवन भीषण बाढी र पहिरोले फेरी तहसनहस बनाएको छ ।
चिनियाँ समचार संस्था सिन्ह्वाका अनुसार चीनमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी १३ जनाको मृत्यु भएको छ भने झन्डै अढाई लाख मानिस विस्थापित भएका हुन्।
दक्षिणी क्षेत्र गुआंग्सीमा बाढीले बगाउँदा ६ जनाको मृत्यु भएको छ भने १ जना हराइरहेको समाचारमा उल्लेख छ । यस्तै उत्तरी चीन हुवान प्रान्तमा ७ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका हुन ्।
आकस्मिक व्यवस्थापन मन्त्रालयलाई उधृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाए अनुसार यही जुन २ देखि आएको बाढी र पहिरोका कारण २ लाख ३० हजार मानिस विस्थापित भएका छन् भने १ हजार ३ सयभन्दा बढी घर डुबानमा परेका छन्।
उत्तरी र दक्षिण क्षेत्रका सडक जलमग्न भएका छन् । बाढीले ३० पर्यटकीय क्षेत्र पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । सन् १९९८ मा चीनमा बाढीका कारण २ हजारभन्दा बढी जनाको मृत्यु भएको थियो भने ३० लाख घर डुबानमा परेका थिए ।