काठमाडौ, जेठ २९ (हाकाहाकी)– विदेशमा रहेका नेपाली उद्धार गर्ने क्रममा बिहीबार कुवेतबाट दुवै जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।
एयरबस ए३२०–२५१एन दुई जहाजमा कुल ३ सय नेपालीहरु स्वदेश फर्किएका हुन् । नेपाली महिला लिएर जजिरा एयरवेजका जहाजहरु नेपाल आएका हुन्।
साढे ११ बजे आइपुगेको एयरवेजको पहिलो जहाज काठमाडौंबाट कुवेत फर्किएको छ भने अर्को जहाज केही बेर अघि विमानस्थलमा अवतरण गरेको हो । अब उनीहरुलाई नेपाली सेनाले प्रदेश अनुसार होल्डिङ सेन्टरमा लग्नेछ । त्यसपछि होटल क्वारेन्टिनमा बस्नेलाई होटलमा र अफ्नो घर फर्कनेलाई सम्बन्धीत प्रदेश तथा स्थानिय तहको समन्वयमा पठाइने जनाइएको छ । उनीहरु १४ दिन सरकारले निर्धारण गरेको क्वारेन्टिनमा बस्नुपर्नेछ।
कुवेतले बिनाजरिवाना स्वदेश फर्किन पाउने गरी अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा राखिएका नेपालीलाई आफ्नै खर्चमा दैनिक दुइटा विमानमार्फत नेपाल पठाउन नेपाल सरकारसमक्ष प्रस्ताव राखेको थियो।
अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा २ हजार ९ सय ९१ नेपाली छन्। तीमध्ये १ हजार ६ सय ८८ पुरुष र १ हजार ३ सय ३ महिला छन् । कुवेत सरकारका अनुसार यी सबै नेपाली नेपाल फर्काउन कम्तीमा २० उडान गराउने तयारी छ।