काठमाडौ, जेठ २९ (हाकाहाकी)– अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले कोभिड–१९ का कारण बालबालिकाको अधिकार, उनीहरुको सुरक्षा तथा विकासमा अत्यन्त ठूलो जोखिम उत्पन्न भएको ठहर गर्दै आएको छ ।
बालश्रम विरुद्धको विश्व दिवस, २०२० को सन्दर्भ पारेर आइएलओले कोभिड–१९र यसको प्रभाव स्वरुप उत्पन्न विश्वव्यापी आर्थिक तथा सामाजिक सङ्कटबाट पर्याप्त सामाजिक सुरक्षा प्रणालीको अभावमा गरिबीमा रहेका परिवारसँगै उनीहरुका बालबालिकामा जोखिम बढाएको उल्लेख गरेको छ ।
कोभिड–१९ फैलनु अगाडिसम्म विश्वभर करिब १० करोड बालबालिकालाई श्रमबाट मुक्त गरिएको आइएलओले जनाएको छ । सन् २००० मा बाल श्रमिकको सङ्ख्या २४ करोड ६० लाख रहेकामा सन् २०१६ सम्म बालश्रम १५ करोड २० लाखमा झरेको छ ।
यद्यपि सात करोड ३० लाख बालबालिका अझै पनि जोखिमपूर्ण श्रममा संलग्न छन् । कोरोना सङ्कटले जोखिममा रहेका लाखौँ बालबालिकालाई फेरि बालश्रममा लगाउन सक्ने खतरा रहेको आइएलओले औँल्याएको छ । संयुक्त राष्ट्र सङ्घले सन् २०२१ लाई बालश्रम उन्मूलनका लागि अन्तर्राष्ट्रिय वर्ष घोषणा गरेको छ ।