काठमाडौ, जेठ २९ (हाकाहाकी)– नेपालमा बिहीबार थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै कोरोना संक्रमितको कुल संख्या ४ हजार ६ सय १४ पुगेको छ । कुल संक्रमितमध्ये ४ हजार २ सय ८५ पुरुष र ३ सय २९ महिला छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारका संक्रमितमध्ये २ सय ३० पुरुष र २० जना महिला छन । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा देशभर गरेर २ सय ५० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताउनुभएको छ ।
मन्त्रालयका अनुसार बिहीबार रौतहटमा ५७, दैलेखमा ४८, रूपन्देहीमा २९, बाजुरामा १८, रोल्पामा १४, बाँकेमा १३ जना संक्रमति थपिएका छन् । त्यस्तै, सप्तरीमा ९, दाङमा ८, बारामा ७, सुर्खेतमा ७, धादिङमा ७, कैलालीमा ७, नवलपरासी पश्चिममा ६, महोत्तरीमा ४, सर्लाहीमा ४, प्युठानमा ४, सुनसरीमा ३, झापामा २, कपिलवस्तुमा २ र बझाङमा २ जना संक्रमित भेटिएका हुन् ।
प्रदेश अनुसार आजसम्म प्रदेश १ मा ३०७, प्रदेश २ मा एक हजार ६७१, बागमतीमा १४७, गण्डकीमा १४७, प्रदेश ५ मा एक हजार ३९९, कर्णालीमा ७५९ र सुदूरपश्चिममा १९२ संक्रमित भेटिएका छन् ।
यसैगरी, कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्म १५ पुगेको प्रवक्ता डा. गौतमले बताउनुभएको छ । बिहीबार १ सय ८७ गरी अहिलेसम्म जम्मा ८ सय ६१ जना कोरोनामुक्त भएर डिस्चार्ज भएको पनि उहाँले जानकारी दिनुभएको छ ।
यस्तै, गएको २४ घण्टामा पीसीआर विधिबाट ५ हजार १ सय ९४ र आरडिटी विधिबाट ५ हजार २ सय ६३ वटा नमुना परीक्षण भएको प्रवक्ता डा. गौतमले बताउनुभयो ।
अहिले देशभरका विभिन्न आइसोलेसनमा ३ हजार ७ सय ३८ जना उपचाररत रहेका छन् भने देशभर १ लाख ६२ हजार १३ जना क्वारेन्टाइनमा रहेका छन्।