काठमाडौ, जेठ २९ (हाकाहाक)– कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको र भ्रष्टाचार बढेको ठहर गर्दै देशका ठूला सहरहरुमा बिहीबार सरकार विरुद्ध प्रर्दशन भएका छन् । काठमाडौको बालुवाटार, बिराटनगर, पोखरा, विरगंजलगायतका सहरमा प्रर्दशनी भएका हुन ।
कोरोना नियन्त्रणको लागि सरकारले गरेको खर्च पारदर्शी हुनुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने माग राख्दै सरकारविरुद्ध प्रदर्शन भएको हो । प्रर्दशनमा हजारौंको संख्यामा युवायुवतीहरु सडकमा निस्किएका थिए ।
प्रदर्शनकारीहरुले सरकारले खर्चको विवरणभन्दा उपलब्धि देखाउनुपर्ने माग गरेका छन् । साथै आरडीटी परीक्षण बन्द गरी यथासक्य धेरै पीसीआर परिक्षण बढाउनुपर्ने माग राखेका छन् । मुखमा मास्क लगाएका युवायुवतीहरुले सरकारका लापरवाही र कमजोरी देखाउन विभिन्न नाराहरु लेखिएका प्लेकार्ड र ब्यानरहरु बोकेर सडकमा आएका हुन ।
बिहीबार बिहान बालुवाटारमा भेला भएका प्रर्दशनकारीलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो । सरकारले कोरोना रोकथामको लागि १० अर्ब रुपैयाँ खर्च भइसकेको बताएपछि सदनदेखि सडकसम्म कहाँ–कति खर्च भयो भनेर पारदर्शी हिसाब देखाउन सरकारसँग आग्रह गर्दै आइरहेका छन् । सदनमा पनि विपक्षीहरुले सरकारलाई पटकपटक कोरोना महामारी नियन्त्रण र व्यवस्थापन चुस्त बनाउन र खर्च पारदर्शी बनाउन माग गर्दै आएको छन् ।
यसैगरी कोरोना नियन्त्रणका लागि सरकारको काम प्रभावकारी नभएको भन्दै प्रदेश १ को राजधानी विराटनगरमा पनि प्रदर्शनी भएको छ । प्रदर्शनमा विराटनगरका युवाहरुले सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा खर्च भएको १० अर्ब रुपैयाँको हिसाब पनि मागेका छन् ।
बिहीबार ¥याली निकाल्दै प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेका युवाहरुले कोरोना भाइरस संक्रमण परीक्षणका आरडीटी विधिको परीक्षण बन्द गरेर पीसीआर विधिबाट गर्न माग गरेका छन् ।
स्वतस्फूर्त रुपमा सडकमा निस्किएका युवाहरुले प्रदेश मुख्यमन्त्रीको कार्यालय र विराटनगर महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका थिए ।
यसैगरी, क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्ने र कोरोना संक्रमण पत्ता लगाउन पीसीआर विधिको परीक्षण बढाउनुपर्ने माग राख्दै पोखरामा पनि प्रदर्शन भएको छ । सयौंको संख्यामा उपस्थित भएका युवाले हात हातमा विभिन्न नारा अंकित प्लेकार्ड बोकेर विरोध जनाएका थिए । सयौंको संख्यामा उपस्थित भएका युवालाई रोक्न खोज्दा प्रहरी र आन्दोलनकारीबीच सामान्य झडप भएको थियो ।
नाराबाजी गर्ने केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुको विस्तृत रिपोर्ट आइनसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता निरीक्षक नरहरि अधिकारीले बताउनुभयो । यसैगरी विरगंजको घण्टाघर क्षेत्रमा बिहीबार साँझ सरकार विरुद्ध प्रर्दशन भएको थियो ।