काठमाडौ, जेठ २८ (हाकाहाकी)– नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । यसमध्ये पुरुष ४ हजार ५५ र महिला ३०९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पीसीआर परीक्षण क्षमता भन्दा धेरै स्वाब संकलन भएपछि सरकारले पाँच दिनका लागि संकलन कार्य बन्द गरेको थियो । भण्डारण गरिएका स्वाब परीक्षण गर्दा यस्तो परिणाम आएको हो ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा भएको परीक्षणमा २ सय ७९ जनाको रिपोर्ट पोजिटिभ आएको बताउनुभएको छ । संक्रमितमध्ये २ सय ५७ जना पुरुष र २२ जना महिला रहेको प्रवक्ता डा. गौतमले बताउनुभयो ।
पछिल्लो तथ्यांकअनुसार २ महिला र ८८ पुरुष गरी ९० जना डिस्चार्ज भएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।
योसँगै डिस्चार्ज हुनेको संख्या ६ सय ७४ रहेको छ । यसैबीच, मन्त्रायलयका अनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ रहेको छ ।