काठमाडौ, जेठ २६ (हाकाहाकी)—कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको सोमबार ७७ दिन पुगेको छ । गत चैत ११ गतेदेखि सुरु भएको लकडाउन खुकुलो बन्दै गएको छ ।
सरकारले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेपनि मोडालिटी तयार पार्न नसक्दा सर्वसाधारण स्वतःस्फुर्त रुपमा घर बाहिर निस्किएका छन् ।
आज काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सवारी साधनको आवागमन बाक्लो देखिएको छ । मुख्य सडकहरुमा निजी सवारी साधनहरुको चाप उच्च देखिएको हो । सार्वजनिक सवारी साधन भने सञ्चालनमा आएका छैनन् ।
प्रहरीले सवारी जाँचलाई खुकुलो बनाउदा सडकमा मानिसहरुको आवागमन पनि बाक्लीदै गएको पाइएको छ । काठमाडौंमा अधिकांश कार्यालय र उद्योग व्यवसाय सञ्चालनमा आएका छन् ।
न्यूरोड, भोटेबहाल, इन्द्रचोक लगायतका ठाउँमा रहेका अधिकांश पसलहरु बिहानको समयमा खुलेको देखिन्छन् । सरकारले लकडाउनको मोडालिटी तय गर्न नसकेको भन्दै व्यवसायीहरुले पसल सञ्चालन गर्ने निर्णय गरेका थिए ।
लकडाउनको मोडालिटी परिवर्तन गर्ने सम्बन्धमा हिजो उच्च स्तरीय समन्वय समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा छलफल भएपनि कुनै ठोस निर्णय भने हुन सकेन । सरकारले लकडाउनका विषयमा अझै निर्णय गर्न नसक्दा सबैमा लकडाउनको अन्यौलता दखिएको छ ।