काठमाडौ, जेठ २६ (हाकाहाकी)—आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका अछामस्थित बयालपाटा अस्पतालका एक कर्मचारीको मृत्यु भएको छ ।
अस्पतालले आर्थिक संकट भएको भन्दै जागिरबाट हटाएपछि सोमबार साफेबगर नगरपालिका–६ भागेश्वरका सिद्धार्थ आउजीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउनुभएको थियो । जलेर घाइते हुनुभएका उहाँलाई दिउँसो हेलिकप्टरमा उद्धार गरी थप उपचारका लागि कोहलपुर लगिएको थियो ।
आउजीको उपचारको क्रममा कोहलपुर अस्पतालमा मृत्यु भएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी नन्दकिशोर यादवले बताउनुभएको छ ।
अस्पतालले हटाएपछि केहि दिनदेखि तनावमा रहेका आउजीले परिवारको रोजीरोटी खोसिएको भन्दै आगो लगाउनुभएको बताइएको छ । बयलपाटा अस्पतालले आर्थिक संकट परेको भन्दै उहाँ लगायत ३२ जना कर्मचारीलाई हटाएको थियो।