Saturday, November 2, 2024

हवाई इन्धनको मूल्य घटेसँगै भाडा पनि घटाइयो

काठमाडौ, जेठ २६ (हाकाहाकी)– हवाई इन्धनको मूल्य घटेपछि वायुसेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा सञ्चालक संघले हवाईजहाजको भाडा घटाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य समायोजनको निर्णय कार्यान्वयन गराउन संघलाई आइतबारै पत्राचार गरेपछि हवाई भाडादर घटाइएको संघले विज्ञप्तिमार्फत जनाएको हो ।

हवाई इन्धनको मूल्य घटेको अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने सरकारको निर्णय र सोहीअनुरुप प्राधिकरणको मिति २०७७ जेठ २५ को पत्रबाट अनुमोदन गरी कार्यान्वयनका लागि लेखी आएकाले हवाईभाडामा नयाँ ‘फ्युल चार्ज’ कायम गरिएको आज जारी भनिएको छ ।

नयाँ भाडादरअनुसार काठमाडौँ माउन्टेन उडानका लागि ८ सय ६० रुपैया घटाएर २ हजार २ सय ३० रुपैया कायम गरिएको छ । काठमाडौँ–भद्रपुरको ७ सय ५० रुपैया घटाइ १ हजार ९ सय ५० रुपैया बनाइएको छ । काठमाडौँ–विराटनगर गन्तव्यमा साविकको २ हजार १ सय ६० बाट ६ सय रपैया घटाएर १ हजार ५ सय ५० कायम गरिएको छ ।

पोखराको २ सय ७० घटाएर ६ सय ९५ रुपैया बनाइएको छ । काठमाडौँ–धनगढीको साविकको ३ हजार ९ सय ७५ रुपैयाबाट १ हजार १ सय ५ रुपैया घटाई २ हजार ८ सय ७० रुपैया निर्धारण गरिएको छ ।

काठमाडौँ–नेपालगञ्जको ८ सय १५ रुपैया घटाई २ हजार १ सय १५ रुपैया बनाइएको छ । सबैभन्दा कम काठमाडौँ–सिमरामा ५ सय ५८ रुपैया र सबैभन्दा बढी काठमाडौँ–धनगढी गन्तव्यको भाडा रहेको छ ।

हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने गरी नेपाल सरकार (विभागीय मन्त्री) को २०७५ जेठ २७ निर्णय गरेको थियो । सोही निर्णयअनुसार संघमा आबद्ध वायुसेवा कम्पनीले स्वचालित प्रणालीअनुसार हवाई इन्धनको मूल्य समायोजन गर्ने निर्णय गरिएको संघका महासचिव योगराज कँडेल शर्माले बताउनुभयो ।

कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले चैत ११ देखि देशभर बन्दाबन्दी गरेको छ । चैत ९ गतेदेखि नै नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय उडान तथा चैत ११ देखि नै आन्तरिक उडान पनि स्थगन गरिएको छ । पछिल्लोपटक असार १६ सम्म उडान स्थगन गरिएको छ । आगामी असार १७ देखि आन्तरिक उडान सञ्चालन गर्ने सरोकारवाला निकायले तयारी गरिरहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार