Saturday, November 2, 2024

आइतबारबाट बर्षा रोकिने

काठमाडौ, जेठ २४ (हाकाहाक)– अरब सागरबाट आएको ‘निसर्ग’ चक्रवातका कारण भइरहेको बर्षा आइतबारबाट रोकिने मौसमविद्हरूले बताएका छन् ।

वरिष्‍ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रिय भएजस्तो लागे पनि यो मनसुन नभई अरु प्रणाली हो । नेपालमा १० जुनदेखि मनसुन शुरु हुने गर्छ ।

यस वर्ष औसत समयभन्दा एक साता ढिलो मनसुन भित्रिने अनुमान मौसमविद्को छ । नेपालमा मनसुन भित्रिन दक्षिणपूर्वी हावा बंगालको खाडीबाट वायुमण्डलको तल्लो सतहदेखि करिब ६ किलोमिटर माथिसम्म प्रवेश हुनुपर्छ ।

हाल देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकाको मौसम आज केही बेर खुलेको देखिए पनि पुनः बदली हुने सम्भावना रहेको मौसमविद् अर्यालले जानकारी दिनुभयो ।

प्रदेश नं १, २ र वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही बाँकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही स्थानहरूमा वर्षासँगै मेघगर्जन र चट्याङको पनि सम्भावना र उच्च हिमाली भेगका केही स्थानहरुमा हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आह्वान गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार