Saturday, November 2, 2024

‘मनैदेखि सफा गरौ बाग्मती’ कार्यक्रम सुरु

काठमाडौ, जेठ २४ (हाकाहाकी)– आठ वर्ष अघिदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानलाई बन्दाबन्दीका बीच मनदेखि नै सफाइ गर्ने गरी नयाँ कार्यक्रम सुरु गरिएको छ ।
मुहानदेखिकै वाग्मती सफाइ अभियान चलाउँदै आएको वाग्मती सुन्दरता सरोकार मञ्चले शनिबारदेखि मानिसको मनदेखि नै सफाइका लागि जागरण फैलाउन लागेको हो ।

मञ्चका अध्यक्ष उत्तम पुडासैनी वाग्मतीमा आउने कुहिने फोहरलाई घरघरमै जैविक मल बनाउने अभियानलाई तीव्ररूपमा अघि बढाउन लागिएको बताउनुहुन्छ ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँगको सहकार्यमा मञ्चले सुपथ मूल्यमा तीन हजार परिवारलाई कुहिने फोहर हालेर मल बनाउने बीन वितरण गरेको छ ।

बजारमा चार हजारभन्दा बढी पर्ने बीन अधिकार सम्पन्न वाग्मती समितिले खरिद गरेर दिएपछि एक हजार ३५० मा बिक्री भइरहेको अध्यक्ष पुडासैनीले बताउनुभयो ।

सुन्दरीजलदेखि नयाँबानेश्वर सम्मको वाग्मती किनार दायाँबायाँका बासिन्दालाई सहुलियत दरको बीन वितरण गरी कौशी खेतीमा प्रोत्साहन गर्न लागिएको हो ।

नदी किनारका बस्तीबाट निस्कने कुहिने फोहर बीनमा राखी घरमै जैविक मल बनाएर कौशीखेतीलाई प्रोत्साहन गर्दा वाग्मतीमा कम फोहर आउने विश्वास गरिएको छ ।

यसबाट तरकारीमा वाग्मती किनारका बासिन्दा आत्मनिर्भरसमेत हुने अध्यक्ष पुडासैनीले बताउनुभएको छ । नदी किनारका बासिन्दा आत्मनिर्भर हुने यो अभियानमा सहभागी हुन यस क्षेत्रका स्थानीय तहसँग पनि सहकार्य गर्न लागिएको मञ्चले जनाएको छ ।

मानिसमा पनि जनचेतना फैलाउन तालिम, प्रशिक्षणलगायत कार्यक्रमलाई निरन्तरता दिइएको छ । यो अभियानसँगै वाग्मती सफाइमा मनदेखि नै काम गर्ने अभियान शुरु भएको मञ्चले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार