काठमाडौ, जेठ १५ (हाकाहाकी)– नेवार समुदायले पानीका परम्परागत स्रोतको सरसफाई गरी आज सिथि नखः पर्व मनाइरहेका छन् ।
सिथि नखः पर्वका दिन आज नेवार समुदायले आफनो टोल वरपर रहेका पानीको परम्परागत स्रोत इनार, कुवा, पोखरी र ढुंगेधाराको सामाजिक दुरी कायम गरी सरसफाई गर्दैैछन् ।
ग्रिष्म मौसम सकेर बर्षा याम सुरु भएको बेला जेष्ठ शुक्ल पक्ष षष्ठी तिथीका दिन सिथि नखः पर्व मनाइन्छ । यो समयमा पानीको सतह पुरै घट्ने भएकाले स्रोत सरसफाई गर्न सजिलो हुने गर्दछ ।
आजका दिन सरफाई गर्ने इनार, कुवा , ढुंगेधाराको पानी ४ दिनपछि पुजा गरेर मात्र चलाउन मिल्ने परम्परा छ । सिथी नखःले परापूर्वकालदेखि पानीका मुहान सधै सफा राख्नुपर्दछ, विशेष गरी वर्षाको बेला पानीका मुहान बढी दूषित हुने भएकाले यसलाई सफा गर्नुपर्छ भन्ने सन्देश दिने गरेको छ ।
आजका दिन बिहान सबेरै नुहाइधुवाई गरी बिभिन्न परिकार पकाएर कार्तिके देवतालाई चढाएर खाने गरिन्छ । घरको मुल ढोका बाहिरको (पिखालखु) अर्थात् क्षत्रपाल कुमारलाई सिथि देवताका रुपमा पुजा गर्छन ।
यो पर्वमा कालो दाल , खोस्ते मुगी , सानो केराउ लगायतका दालहन परीकार बारा, चटामरी, मालपुवा लगायतका परिकार पकाएर खाने चलन छ । सानो टपरीमा चिउरा, भट्मास, अदुवा, बारा, चतामरि हालेर पुजा गरिन्छ ।
काठमाडौंमा बसोबास गर्ने नेवारहरू मध्ये देवाली पुजा र कुल(पुजा)को निश्चित तिथि नभएकाहरूले यसै दिन कुल देवताको पुजा गरी देवाली मनाउने गर्दछन् ।
सिथि नखः पर्वलाई नेवार समुदायले मनाउने बर्षको अन्तिम पर्वको रुपमा लिइन्छ । साथै यो पर्वलाई छोरीबेटीको पर्वका रुपमा लिई छोरीहरुलाई बोलाएर खुवाउने परम्परा रहेपनि लकडाउनका कारण धेरैजना माइती जान पाएका छैनन् ।
सिथिनखः आएपछि रोपाई सुरु भयो भन्ने मान्यता छ ।
रोपाईका लागि शरीर बलियो बनाउन भन्दै दालहन पकवान खाने चलन छ । यो पर्व लिच्छविकालदेखि नै परम्परागत पानीका स्रोत सरसफाई गर्ने पर्वका रुपमा मनाउन थालेको देखिन्छ ।