Thursday, November 14, 2024

दक्षिण एसियाली मुलुकमा यस बर्ष औसत बर्षा हुने अनुमान

हाकाहाकी संवाददाता – काठमाडौ, बैशाख १२– मौसमविद्हरूले यो वर्ष दक्षिण एसियाली मुलुकमा मनसुनी वर्षा औसत हुने अनुमान गरेका छन् ।

दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोप)ले यो अनुमान गरेको हो ।

सास्कोपका मौसमविद्, विश्व मौसम संगठनका विज्ञहरूले जुनदेखि सेप्टेम्बर चार महिना कायम हुने मनसुनी वर्षा दक्षिण एसियाको दक्षिणी भुभागमा सामान्य र उत्तरी भुभागमा अलि बढी हुनेसक्ने प्रक्षेपण गरेका हुन् ।

बंगलादेशको ढाकामा तय गरिए पनि कोरोना भाइरसका कारण भिडियो कन्फ्रेन्समार्फत् गरिएको सम्मेलन पश्चात जारी विज्ञप्तिमा भनिएको छ, ‘उत्तर बंगालको खाडी वरपरका क्षेत्र र उत्तरी क्षेत्रका अधिकांश भुभागमा सामान्य वर्षा हुने छ, बाँकी भुभागमा सामान्य भन्दा बढी वर्षा हुने छ ।’

सास्कोफका विज्ञहरूको भेलाले विभिन्न जलवायु प्रारुप (क्लाइमेट मोडल), पूर्वानुमान (फरकास्ट) तथा जलवायुसम्बन्धि घटनाक्रम (केस स्टडीज) हरुको विश्लेषण गर्दै दक्षिण एसियाली क्षेत्रका मुलुकहरूको मनसुनको प्रक्षेपण गर्ने गर्छ । यो भेला गत वर्ष नेपालमा भएको थियो ।

दक्षिण एसियाको सम ग्र मनसुनको प्रक्षेपण पश्चात मुलुकहरूले आफ्नो क्षेत्रको मनसुन प्रक्षेपण गर्ने गर्छन्। जल तथा मौसम विज्ञान विभागले पनि यो वर्ष नेपालमा मनसुनी वर्षा कस्तो हुन्छ भनेर प्रक्षेपणको तयारी थालेको छ ।

विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार यो वर्ष नेपालको मनसुनी वर्षा औसत हुने देखिए पनि क्षेत्रगत रूपमा केलाउने काम भइरहेको र चाँडै नै प्रक्षेपण गरिने बताइन् । यद्यपि, पश्चिमी क्षेत्रमा बढी, तराईमा अलि कम र पूर्वी तराईमा झन कम वर्षा हुनसक्ने प्रारम्भिक विश्लेषण गरिएको छ ।

नेपालमा औसतमा जुन १० मा मनसुन भित्रिएर चार महिना कायम हुने गर्छ । गत वर्ष १० दिन ढिला गरी असार ५ गते मात्र मनसुन प्रवेश गरेको थियो । यो वर्ष मनसुन कहिले प्रवेश गर्छ र कुन महिना कस्तो हुन्छ भनेर अध्ययन भइरहेको र चाँडै नै प्रक्षेपण गरिने मौसमविद् कँडेलले जानकारी दिइन् ।

पानी पार्ने प्रणाली बंगालको खाडी सक्रिय हुने भएकाले करेला मनसुन प्रवेश हुन्छ त्यसले नेपाललाई असर गर्छ। नेपालमा मनसुन प्रवेश गरेपनि सक्रिय हुन १ सातादेखि १० दिनसम्म लाग्ने गर्छ । नेपालमा मनुसनी वर्षामा आधारित कृषि प्रणाली रहेकाले मनसुन कस्तो हुन्छ भनेर किसानलाई झनै चासो हुने गर्छ ।

गत वर्ष नेपालमा प्रदेश १, २ र ३ को अधिंकाश भुभागसहित प्रदेश ५ को पश्चिमी भूभागमा औसतभन्दा कम र अन्य भागमा भने औसत र औसत नजिक मनसुनी वर्षा हुने आँकलन गरिएको थियो। वर्षा पनि त्यही अनुसार मिल्दोजुल्दो थियो ।
प्रशान्त महासागर र हिन्द महासागरमा समुद्री सतहको तापमान अधिक हुनु र ग्रीष्मकालीन मनसुनको प्रबल रुपलाई प्रभावित गर्नाले पछिल्लो समय वर्षाको स्थिर भइरहेको मौसमविद्हरू बताउँछन्।

अहिले काठमाडौँ लगायतका विभिन्न क्षेत्रमा भइरहेको वर्षा प्रिमनसुनका कारणले हो । मनसुनको समयावधिका चार महिनामा कुल वार्षिक वर्षाको ८० प्रतिशतसम्म वर्षा हुन्छ । सामान्यतया नेपालमा सेप्टेम्बर २३ सम्म मनसुन रहने अनुमान गरिन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार