Friday, November 15, 2024

भ्रर्खर सास फेर्दैछ निसास्सिएको ‘फेवाताल ’


हाकाहाकी संवाददता – पोखरा, वैशाख ७– फेवाताल किनारको फूटट्रयाक आसपास यतिबेला दूवो पलाएर हरियै भएको छ । फूटट्रयाकसँगै रोपेका सिसौका विरुवाले पालुवा हालेका छन् । झांगिएका सिसौका बोटको फेदमा रंगरोगन गरेर चिटिक्क पारेर सजाईएको छ । चिरविर चिरविर चराको आवाजले झनै मनमोहक बनाउँछ । सिरसिर हावा चलिरहेको छ । तर मानवीय गतिबिधी शून्य छ । सबैतिर सुनसान छ ।

तर प्रकृतिको वास्तविक रुप विस्तारै प्रस्फुटन हुदैछ । तालको वरिपरि हरियाली छाउँदै छ । रंगीचंगी फुलहरु, अनि हरियाली र सफा पानीमा खेलीरहेका चराचुरुङ्गी र तीनका आवाज । फेवातालको वास्तविक अनुहार यसरी खुल्दैछ । निसास्सिएर खुम्चिन वाध्य पारिएको फेवाले भ्रर्खर मात्र सास फेर्न पाएको छ । प्रकृतिका लागि भने यो ‘बन्दाबन्दी҆ स्वर्णीम काल भएको छ । नदी, खोला, वनजंगल, तालतलैया, पशुपंक्षी, किटपतिंगरका लागि संभवत धेरैपछि आएको यो समय अति उत्तम भएको छ । मानविय आक्रमण र हस्तक्षेपले खुम्चिदै गएको प्रकृति केही समयका लागि भएपनि प्रस्फुटन हुदैछ ।

अरुबेला यो सिजनमा फूटट्रयाकमा पाइला हाल्ने ठाउँ हुने थिएन । बेलुकीपख त झनै भीडभाड हुन्थ्यो । विदेशी र स्वदेशी पाहुनाको भीडमा गर्मी छल्न र तालको सिरसिर हावामा रमाउन बजारीयाहरु ताल किनारमा मिसिन पुग्दा झनै भीडभाड हुन्थ्यो । बेलुकी पख ताल किनारमा रमझम झनै बढ्थ्यो । जोडी बाँधेर बस्ने युवायुवती पनि उत्तिकै देखिन्थे । तालबाट आएको सिरसिर हावामा रम्ने प्रयाप्त हुन्थे ।

साँझ ढल्दै जाँदा होटल तथा रेस्टुरेन्टको झिलिमिलि सहित फूटट्रयाकका सोलार बलेर उज्यालो छर्दथे । त्यही उज्यालोमा रम्दै पाहुनाले ताल किनारका रेस्टुरेन्टमा चुस्की लाएका हुन्थे । रात ढल्दै जाँदा रेस्टुरेन्ट र होटलमा गुञ्जिएको म्यूजिकले तालक्षेत्र मध्यरातसम्म सक्रिय रहन्थ्यो । त्यसबाहेक तालमा डुंगा सयर पनि बिहान सबेरैदेखि बेलुकी अबेरसम्म हुन्थ्यो । अहिले ती डुंगा पनि नचली अडिरहेका देखिन्छन् । एकाध डुंगा व्यावसायी डुंगामा भरिएको पानी फ्याकेर आफ्ना डुंगालाई सुरक्षित बनाईरहेका देखिन्छन । त्यसबाहेक एकाध डुंगा चालक तालको मध्यभागसम्म पुगेर रमाईरहेका देखिन्छन् । ती बाहेक अरु गतिविधि देख्न पाइँदैन ।

विश्वव्यापी कोरोना भाईरसको त्रासले गर्दा मूलूक झन्डै एकमहिनादेखि लकडाउन छ । लकडाउनको प्रभाव सबैतिर छ । त्यही लकडाउनको मारमा पर्यटकीय क्षेत्र लेकसाइड पनि छ । लकडाउनका कारण विदेशी पाुहना त आउन पाएका छैनन, नै आन्तरिक र स्थानीय पाहुना पनि लेकसाइड झर्न पाएका छैनन । त्यसले गर्दा पर्यटन क्षेत्र सुनसान छ ।

मानवीय आउजाउले चहलपहल हुने फेवाताल किनारलाई यतिबेला प्रकृतिले भने साच्चै सिंगारेको छ । अधिक मान्छेको आउजाउ हुँदा भीडभाडका कारण तालकिनारको दूवो मिचिँदा कहिल्यै मुन्टो उठाउन पाउने थिएन । तर, अहिले भने दूवो पलाएर हरियै भएको छ । सिरसिर हावामा रम्न तालकिनार पुग्ने मान्छे त्यही दूवोमा बसिदिँदा टुँसा हाल्न पाउने गरेको थिएन । तर, यो पटक भने दूवोमा बसिदिने कोही छैनन । त्यसमा पनि दिनहुँजसो वर्षा भईदिँदा हरियाली हुन सघाएको छ । त्यसबाहेक रोपिएका सिसौले पनि पालुवा हालेर झांगिदा सुस्ताउने छहारी पनि सुन्दर देखिएको छ ।

‘साच्चै लेकसाइडको ताल क्षेत्र सुन्दर बनेको छ । यो बेला मान्छेको भीडभाडले गर्दा कहिल्यै हरियो देख्न पाएका थिएनौ,’ पर्यटन व्यावसायी सूर्य भूजेल भन्छन,‘अहिले त तालकिनारमा हिड्ने कोही नभएर होला, बल्ल दूवो पलाउन पाएको छ । सबैतिर हरियाली देखिएको छ । त्यसले झनै सुन्दरता थपेको छ ।’ लकडाउन छलेर आक्कल भुक्कल तालकिनार पुग्ने विदेशी सुस्ताएर ताल नियालेर बसिरहेका हुन्छन् । उनीहरुलाई त्यो हरियाली, सितलता र सुन्दरताले झनै लोभ्याउने गरेको भुजेलले बताए ।

अरु समयमा फूटट्रकसँगै जोडिएका रेस्टुरेन्टमा यो बेला पाहुनाको भीडभाड हुन्थ्यो । ती बाहेक केही दुरी भित्र संचालित होटल, रेस्टुरेन्टमा पनि उत्तिकै चहलपहल हुन्थ्यो । तर, अहिले ती सबै होटल र रेस्टुरेन्ट बन्द छन् । रेस्टुरेन्टको गेटमा बढेमानको ताला लगाइएको छ । ती होटलभित्रका रुख विरुवा पनि पलाएर झांगिएका छन् । ‘ब्यापार नहुँदाको पीडा केहीबेर ताल किनारमा उभिने हो भने सुन्दर प्रकृतिले बिर्साउँछ,’ भूजेलले भने, ‘साच्चै पोखराको सुन्दरता कस्तो हुन्छ भन्ने यतिबेला अनुभव गर्न पाइन्छ ।’

मानवीय आउजाउ नहुँदा फूटपाथ सफा देखिएको छ । अरुबेला बाटोमा जंकफूड, पानी र मदिराका बोतल यत्रतत्र फ्याकेका भेटिन्थे । चटपथे, पानीपुरी बेच्नेको उत्तिकै भीडभाड हुन्थ्यो । त्यस्तै दाउरा बालेर धुवा निकाल्दै मासु पोलेर बेच्ने गर्दा परैसम्म गन्ध फैलिएको हुन्थ्यो । मकै पोल्ने देखि धुमपान गर्ने पनि उत्तिकै भेटिन्थे । तर, ती गतिविधि अहिले सबै बन्द छन् । त्यसले गर्दा पनि तालकिनारमा स्वच्छ हावा पाउने गरेको अर्का व्यावसायी गणेशबहादुर भट्टराई बताउँछन् ।
‘लकडाउनका कारण घरबाहिर निस्कन पाइएको छैन । तर कहिलेकाँही रेस्टुरेन्ट पुग्दा त्यहाँको माहोल भिन्दै अनुभव गर्न पाइन्छ । अरुबेला भन्दा फरक, शान्त, सितल र स्वच्छ हावा लिन पाइएको छ,’ भट्टराइले भने, ‘साच्चै पोखराको माहोल सधै यस्तै हुनुपर्ने हो । तर, अरुबेला भने मान्छेको भीडभाड, वरिपरि फोहरको डंगुर, धुवाँधुलोले स्वच्छ हावा लिन पाइदैनथ्यो । तर, अहिले भने स्वच्छ हावा लिन पाउँदा कोरोना पीडा नै बिर्साउँछ ।’

अर्का व्यावसायी गोपिबहादुर भट्टराईले यो पटक फेवाकिनारका रुखविरुवामा धेरै चराचुरुङगी बसेको र गुँढ बनाएको देखेका छन् । अरुबेला वायु र ध्वनी प्रदुषणका कारण चराचुरुङगी पनि त्यस क्षेत्रमा बस्दैनथे । ताल पारीको रानीवनमा गुँढ बनाउन चराचुरुंगी पुग्थे । तर, अहिले भने तालकिनारकै सिसौमा चराचुरुंगी बसेर चिरविर चिरविर गरिरहेको उनले बताए । ‘यो पटक धेरै फरक चराचुरुंगी मैले देखेको छु । अरुबेला ती पंक्षी पनि देख्न पाइदैनथ्यो । तर, अहिले शान्त वातावरण भएकोले होला, चराचुरुंगी पनि रमाएको अनुभव गरेको छु,’ उनले भने ।

ताजा समाचार

सम्बन्धित समाचार