Wednesday, October 23, 2024

सुनकोसी दोहन गर्नेलाई कारबाही हुन्छ : सचिव थपलिया

काठमाडौं– नेपाल वातावरण पत्रकार समूह (नेवापस) द्वारा सञ्चालित ‘हाकाहाकी’ अनलाइनले ‘सुनकोसीको दोहन कहिलेसम्म?’ शीर्षकमा प्रकाशित समाचारप्रति हेल्लो सरकारले चासो व्यक्त गरेको छ ।

गुनासो सुन्ने र कारबाहीका लागि सम्बन्धीत निकायलाई पत्राचार गर्ने काम गर्दै आएको हेल्लो सरकारले सुनकोसी दोहनका विषयमा कानूनी कारबाहीका लागि भन्दै बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र काटेको हो ।

हेल्लो सरकारले पत्र काटेपछि संघीय मामिला मन्त्रालयका सचिव दीनेश थपलियाले ‘दोहन भएको भए’ कारबाही हुने बताए । सचिव थपलियाले भने, ‘हेल्लो सरकारले काटेको पत्र र हाकाहाकीले लेखेको समाचार हेरेर प्रक्रिया अगाडि बढाउँछौं ।’

नदीजन्य पदार्थको उत्खनन् गर्न नै हुन्न भनेर भन्न नपाइने भएपनि मापदण्ड पूरा नगरी उत्खनन गर्न नपाइने र त्यसो गरेको पाइएमा जिल्ला समन्वय समितिमार्फत् कारबाही हुने उनले जानकारी दिए ।

सचिव थपलिया

वातावरण प्रभाव मूल्यांकन गरे÷नगरेको, सम्बन्धीत निकायले दिएको ठेक्का प्रक्रिया, स्वीकृत ठेक्का भन्दा बढी उत्खनन् भए/नभएको, नदी एवं वातावरणीय अनुकुलनलाई दृष्टिगत गरे/नगरेको बारेमा अनुसन्धान हुने उनले बताए।

सप्तकोसीको सहायक नदी सुनकोसीबाट ढुंगा,गिट्टी, बालुवा निकाल्ने बाहनामा चरम दोहन भइरहेको पाइएपछि हाकाहाकीले २४ वैशाखमा फोटोफिचर सहितको समाचार सम्प्रेषण गरेको हो।

अरनीको राजमार्ग छेउछाउ भएर बग्ने सुनकोसी नदीमा मापदण्डविपरीत क्रसरले उत्खनन् गरिरहेको र उत्खनन गरिएको ढुंगा,गिट्टी, बाल्ुवाको निर्यात गर्न टिप्परको लाम नै लागेको फोटोमा स्पष्ट देख्न सकिन्छ ।

सचिव थपलियाका अनुसार तत्कालीन जिल्ला विकास समितिमार्फत् ढुंगा, गिट्टी, बालुवाको ठेक्का लाग्दै आएकोमा हाल त्यसको अधिकार स्थानीय सरकारलाई प्रदान गरिएको छ।

‘अनुगमनको पाटो पनि पहिले जिल्ला प्रशासन र जिल्ला समन्वय समितिलाई थियो जसले गर्दा अनुगमन पनि फितलो भइरहेको महसुस हामीले गरेका हौं,’ सचिव थपलियाले भने, ‘अब ठेक्का आह्वान, स्वीकृतको काम स्थानीय सरकारले गर्छ। अनुगमनको जिम्मेवारी जिल्ला समन्वय समिति र कारबाहीको अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिइने छ। ‘ह्याण्डओभर’ मा अलि समय लागेको छ।’

नदीबाट ढुंगा, गिट्टी, बालुवा, उत्खनन् गर्दा वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने प्रावधान रहेको छ भने, १ दशमलव ५ देखि दुई मिटरभन्दा गहिरो खन्न पाइँदैन । तर, नियमकानुनको कुनै पालना भएको पाइँदैन् ।

२०७१ सालमा आएको बाढीपहिरोका कारण जिल्लाको जुरेमा पहिरो जाँदा सुुनकोसी थुनिएको थियो । उक्त घटनापछि सरकारले सुनकोसी नदीको दोहन रोक्न जिल्ला प्रशासन र तत्कालीन जिल्ला समन्वय समितिलाई निर्देशन दिएपनि अवस्था यथावत छ। पर्यावरणविद् डा. प्रेम पौडेल नदीबाट ढुंगा, गिट्टी बालुवा निकाल्ने नाममा दोहन गर्दा पर्यावरणमा असर पर्ने बताउँछन्।

यो पनि पढ्नुस्
सुनकोसीको दोहन कहिलेसम्म?

ताजा समाचार

सम्बन्धित समाचार