इटहरी – २० वर्ष अगाडि इटहरी पाँच शिवालय टोलबाट इटहरी सत्र लबिपुर बसाइँ सरेर आएका श्याम घिमिरेले साढे तीन बिगाहा जग्गा भाडा (लिज) मा लिएर खेतीपाती गरे।
घिमिरेले दुई वर्ष अगाडि नौ कट्ठा जमिन पनि खरिद गरेका छन्। जिन्दगी भर किसानी पेशा अंगालेका उनी त्यही खेतीपातीबाट जीवन निर्वाह गर्दै आएका थिए।
तर, अन्न उब्जनीमा कमी आउन थालेपछि उनले पेशा नै परिवर्तनको बाटो रोजे। ‘सुरुमा खेती नै गरौला भनेर आइयो। तर, इँटा भट्टा छेउमा भएकोले जमीन चिसो भएन अनि पशुपालनमा लागियो,’ खेतमा बस्तुभाउ चराइरहेका घिमिरेले भने। त्यतिखेर खेत नजिकै इँटा उद्योग रहेको जानकारी भएपनि उब्जनीमा कमी आउँछ भनेर थाहा नपाएको बताउने घिमिरेले खेती गर्दै गर्दा थाहा पाए इँटा उद्योगका कारण जमीनको उर्बराशक्ति घटाउँदो रहेछ । जसले उब्जनीमा कमी आउछ।
धान, गहँु, मकै फलाएर घरपरिवारको जीविकोपार्जन चलाउन सोचेमा रहेका घिमिरेलाई अहिले बालीनालीले घरव्यवहार धान्न हैन आफैले बालीनाली धान्नु परेको अवस्था सुनाउँछन् । ‘हेनुस् इँटा भट्टाले सबै मलिलो माटो खाइदिए छ,’उनी भन्छन्, ‘भट्टाले माटोको भिटामिन खाइदियो सर। अब कसरी अन्न उब्जनी हुन्छ ?’
माटोको उर्बराशक्तिमा ह्रास आएपछि उत्पादन पनि कम हुन थालेपछि घिमिरे अहिले आफ्नो गाई फार्मको सम्पूर्ण मलमुत्र माटोको ‘भिटामिन’ बढाउन खर्च गर्छन्। घिमिरे कृषि फर्मका प्रोपाइटर यी कृषक त अहिले माटोको उब्जाउ घटेपछि पशुपालनमा लागेका छन्।
तर, इटहरी बालग्राम चौकभित्र पर्ने वडा नम्बर १७ र एकम्बा नहर आसपासका कृषकहरू भने खेतीकिसानीबाट बिस्थापित जस्तै भएका छन्।
इटहरी बीस मजरा टोलका अनीलकुमार चौधरीको परिवार पनि यसअघि कृषि पेशामै आश्रित थियो। आफ्नो बाल्यकालमा गाउँ नै कृषि पेशामा देखेका चौधरी हाल आफै खेतीपाती लगाउन छोडेर इटहरीको एउटा विद्यालयमा सवारी चालकको रुपमा काम गर्छन्।
उमेरले ३५ बसन्त पार गरेका चौधरी विगत सम्झिँदै भन्छन्, ‘म ४–५ वर्षको हुँदा गाउँका सबै खेती गर्थे। अहिले इँटा भट्टा खोल्न थालेपछि सबैले जग्गा भट्टालाई बेचे।’
उनका अनुसार इँटा भट्टाको प्रयोजनका लागि जग्गा बचेकाहरू मात्र होइन कृषि पेशामै रहेका पनि अहिले विस्थापित भएका छन्। ‘इँटा भट्टाले माटोको उर्बराशक्तिमा ह्रास आयो, त्यसैले उब्जनी पनि हुन छोड्यो। भट्टा आसपास तातोले पानी सुकेर जमिन सुख्खा भयो । त्यही भएर उनीहरु पनि विस्थापित भए,’ उनी भन्छन्।
कुनै बेला चौधरी धान बेचेर गुजारा गर्थे। तर, अहिले बजारबाट चामल किनेर छाक टार्ने गरेको उनी सुनाउँछनु्।
इँटा भट्टाका कारण माटोको उर्वराशक्ति मात्र होइन। आसपासका बस्तीमा खानेपानीका कल (ट्युववेल) समेत सुक्न थालेको स्थानीय सुनाउँछन्।
जय श्री इँटा उद्योगको नजिकै बस्ने कला काफ्लेले आफ्नो कल सुकेको सुनाइन् । ‘हाम्रो मात्रै हैन बाबु, छिमेकीको पनि कल सुक्या छ,’ वल्र्ड भिजनले बनाइदिएको सामूहिक ट्युववेलमा पानी थाप्दै गरेकी काफ्लेले भनिन, ‘यो पृथ्वी नै सुकेको हो कि भट्टाले तताएर यहाँको पानी सुकाको बुझ्न सकिएन।’
इटहरी १७ हर्दिया टोलकै मुक्ति भण्डारीको समेत केही समययता स्वचालित ट्ययुववेल सुकेको छ। भन्छन, ‘डेढ सय फिट गहिरो खनेर बनाएका छिमेकीका कलहरू समेत सुक्दै छन् ।’
जोखिममा अन्नबाली, वातावरण र बालबालिका
घिमिरे र चौधरी जस्तै साविकको एकम्बा र हालको इटहरीका इटहरी लबीपुर र एकम्बा नहर आसपासका इँटा उद्योगहरूले समस्या पारेको कृषकहरूको दुःखेसो छ । कतिपय खेतीपाती गर्नेहरुका जमिनमा पानी सुक्न थालेको उनीहरु बताउँछन्।
इँटा पोल्ने मेसिन चौबिसै घण्टा जसो तापक्रमा रहने भएकोले पनि आसपासको जमिनको चिस्यान सुकेको स्थानीयको अनुभव छ।
जय नेपाल, जय श्री, न्यू जय नेपाल, हिमालय जस्ता इट्टा उद्योग रहँदा पनि समस्या र उठेर जाँदा पनि समस्या हुने स्थानीयको बुझाइ छ।
‘इँटा भट्टा बसुन्जेल वरपरको चिस्यान सोस्छ, उठेपछि माटोको उर्वराशक्ति सोसेर जान्छ,’ आफ्नै उदाहरण दिएका श्याम घिमिरे भन्छन्, ‘यसो जोतो खाली इँटा मात्रै भेटिन्छ।’ भट्टा वरपरका बालीनालीमा एकैदिन असर नपरेर क्रमशः असर देखिँदै जाने स्थानीय कृषक बताउँछन् ।
बालीनाली मात्रै हैन बालबच्चामा समेत भट्टा छेउमा बस्दा थप स्वास्थ्यमा असर पार्ने स्थानीय बताउँछन्।
जय श्री इँटा भट्टा छेउमा घर भएका श्याम घिमिरे आफ्ना १ वर्ष मात्रै नाघेका दुई नातिनीमा छिटोछिटो स्वासप्रश्वास, निमोनिया लाग्ने गरेको बताउँछन्।
नातिनीहरू जेशिका घिमिरे र राजीना घिमिरे आफैपनि भट्टाका धुवाँबाट रोग लाग्ला भन्ने तनावमा छन् । प्रश्न गर्छन, ‘हावा र पानी नै स्वास्थ्य नभएपछि कसरी सधैँ स्वास्थ्य भइएला ?’
स्वास्थ्य कर्मीहरू भन्छन, इट्टा भट्टाबाट विभिन्न विशाक्त धुँवा, धुलो र ग्याँस निस्कन्छन्। कार्बन मनोअक्साइड, सर्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड लगायत अन्य हानिकारक ग्याँस निस्कन्छन्। यस्ता बिशाक्त ग्याँस हावामा मिसिएर एकातर्फ मान्छेको रोगसँग लड्ने क्षमतामा ह्रास आउँने र अर्कोतर्फ वायुमण्डलको ओजन तह पातल्याँउने खतरा रहेको वैज्ञानिक र विज्ञहरूले भन्दै आएका छन् ।
विभिन्न स्वास्थ्य अनुसनधान संस्थाहरू मानव बस्तीसँगै विभिन्न उद्योग नराख्न सल्लाह दिन्छन्। बालबालिका र रोग प्रतिरोधात्मक क्षमता भएकामा यस प्रकारका प्रदूषणजन्य उद्योगहरूले दीर्घकालीन असर पार्ने विज्ञहरूले सचेत गराएका छन्।
जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका पूर्वप्रमुख डिल्लीरमण अधिकारी उद्योगहरू खास गरी धेरै धुँवा फाल्ने इँटा उद्योगको स्वास्थ्यमा नराम्रो असर पर्ने बताउँछन्।
‘इँटा उद्योगले धुलो र धुँवा एकै पटक निकाल्छन जुन दुवै हाम्रो शरीरका लागि घातक हुन्छ। खोकी लाग्ने, रुघा लाग्ने, बोङकाइटिस लाग्ने, स्वाशनलीमा र फोक्सोमा असर पार्ने रोग इँटा भट्टाको धुलो, धुँवा र ग्याँसले लाग्न सक्छन,’ अधिकारी भन्छन, ‘जसका कारण फोक्सोमा खराबी हुने र अन्तिममा क्यान्सरसम्म हुन सक्छ।’
इँटा उद्योगले बालबालिका र वातावरणमा चाँडो असर गर्ने बताउने अधिकारी सुनसरीमा इँटा भट्टाकै कारण बालबालिका र वातावरण्मा परेको ठ्याक्कै असरबारे भने अध्ययन, अनुसन्धान नभएको सुनाए।
सार्क इनर्जी सेन्टर इस्लामाबादको लागि नेपालका खोजकर्ता उषा मास्के मानन्धर र सानु बाबु डङगोलले सन् २०१३ को फ्रेबअरी अन्तिम साता प्रकाशित अध्ययन प्रतिवेदन अनुसार नेपालमा ७ सय २८ इँटा उद्योग छन् ।
यो संख्याको पछिल्लो तथ्यांक नआएपनि नेपालमा हजार हाराहारीका दर्ता भएर, नभएर सञ्चालनमा आएका इँटा उद्योग छन्। सुनसरीमा मात्रै १६ वटा दर्ता भएर सञ्चालनमा आएका इँटा उद्योग रहेको कोसी अञ्चल इँटा व्यवसायी तथा प्रदेश १ का प्रदेश सभा सदस्य लिलम बस्नेत बताउँछन्।
किप इटहरी क्लिन (केआइसी) नामक संस्थाका अभियन्ता सोनु जयन्ती इँटा उद्योगलाई वातावरणमैत्री बनाएर सञ्चालन गर्नुपर्ने धारणा राख्छिन।