Thursday, September 19, 2024

करोडौँको जडीबुटी चोरी निकासी हुँदै

बझाङ– जिल्लाको उत्तरतर्फ रहेको साइपाल गाउँपालिका तिब्बत्सँग जोडिएको छ । ताक्लाकोट नाकालाई वैधानिक रुपमा खोल्न नसक्दा वर्सेनि करोडौँ राजश्व चुहावट भइरहेको छ ।

बझाङको साईपाल गाउँपालिकादेखि करिब तीन दिनको पैदल यात्राबाट उरैभन्ज्याङ्ग हुँदै ताक्लाकोटतर्फ घोडा र खच्चरमा सीमा क्षेत्रमा भन्सार स्थापना नहुँदा यार्सागुम्बा, बनलसुन, कटुकी, सतुवा, पाँचऔंलेलगायत बहुमुल्य जडीबुटी निकासी हुँदै । तस्बिर :ललित सिंह, बझाङ, रासस

व्यापारीले बहुमूल्य जडीबुटी र वन्यजन्तुको चोरी निकासी गर्दैआएका छन् । जिल्लाको कूल भू–भागको झण्डै आधा क्षेत्रफल ओगटेको साइपाल गाउँपालिकासँग जोडिएको यस नाकाबाट वर्सेनि रु तीन करोडभन्दा बढीको यार्सागुम्बालगायत बहुमूल्य जडीबुटीको कारोबार हुने गरेको छ ।

सीमामा नेपालको उपस्थिति नहुँदा करोडांँैको जडीबुटीको राजश्व छली भइरहेको छ । नेपाल र चीन सीमा क्षेत्रमा भन्सार कार्यालय स्थापना हुन नसक्दा करोडौँ मूल्यका सामान आयत र निर्यात भए पनि राजश्व संकलन गर्न सकिएको छैन । जिल्लाबाट यार्सागुम्बा, वन लसुन, कटुकी, सतुवा, पाँचऔंलेलगायत जडीबुटी ठूलो परिमाणमा निकासी हुने गरेको छ । ताक्लाकोटबाट नुन, कपडा, जुत्ता र ठूलो परिमाणमा तिब्बती मदिरा आयात हुने गरेको छ ।

नेपाली बजारमा भन्दा चिनियाँ बजारमा जडीबुटीको मूल्य चार गुना बढी भएका कारण व्यापारीले उरै भञ्ज्याङहुँदै ताक्लाकोट नाकाको प्रयोग गर्दैआएका छन् । कुन सामान कति मात्रामा आयात हुन्छ यकिन तथ्यांक भने छैन । साइपाल गाउँपालिका, दहबगर, तल्कोट गाउँपालिकालगायत ठाउँमा लत्ताकपडा र इलेक्ट्रोनिक सामान यस नाका भएर भित्रिने गरेको साइपाल गाउँपालिकाकी उपाध्यक्ष कल्पनादेवी बोहरा बताउछन् ।

जडीबुटी संकलनबाट आफ्नो जीविका चलाउँदै आएका उक्त क्षेत्रका बासिन्दाले ताक्लाकोटबाट फर्कदा आवश्यक लत्ताकपडाका साथै इलेक्ट्रोनिक सामान ल्याउने गरेका छन् । सीमा प्रहरी चौकी छल्दै तस्करले सो नाकाको प्रयोग गरी अखेटोपहार, रक्तचन्दन, चरेसलगायत सामग्री तस्करी गर्दै आएका छन् ।

तत्कालीन बझाङी राजा जयपृथ्वीबहादुर सिंहले स्थानीयवासीको श्रमदानबाट चैनपुरदेखि ताक्लाकोटसम्म घोरेटो बाटो निर्माण गरेपछि ताक्लाकोटसँगको व्यापारिक सम्बन्ध स्थापना भएको बताइन्छ ।रासस

ताजा समाचार

सम्बन्धित समाचार