काठमाडौँ– हाल पूर्वी इरान र अफगानिस्तान माथि रहेको पश्चिमी वायुको प्रणाली पूर्व सर्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा बुधबार साँझसम्ममा प्रवेश गर्ने देखिन्छ। उक्त प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने महाशाखाले जनाएको छ ।
उक्त प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना छ । यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको बताइएको छ ।
साथै यस प्रणालीका कारण देशका पश्चिमी भूभागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भूभागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना समेत रहेको छ। बुधबारबाट शुरू भई यो मौसमी प्रणाली शनिबार सम्ममा अन्त्य हुने जनाइएको छ ।
उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुने र साथसाथै तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।