Tuesday, April 15, 2025

महानगर क्षेत्रको वातावरणीय अवस्थामा सुधार भएको छः मेयर शाक्य

काठमाडौँ– प्रदुषण व्यवस्थापनका दृष्टिले अहिले काठमाडौँ महानगर क्षेत्रको अवस्थामा सुधार आएको काठमाडौँ महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले बताएका छन् ।

प्रमुख शाक्यले नियमित काम र सबैको एउटै मतले सन्तोष मान्ने ठाउँमा पुग्न समय नलाग्ने समेत बताए ।

सोमबार काठमाडौँमा कार्यपालिका सदस्य तथा वडा सदस्यहरुका लागि आयोजना गरिएको ४ दिवसीय फोहोरमैला व्यवस्थापन सम्बन्धि पुनर्ताजगी कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले काठमाडौँमा घरेलु फोहोरको मात्र समस्या नभएको बताए ।

निर्माण कार्यमा भएको लापर्वाहीले धुँवा धुलोको समस्या थपिएको उनले बताए । मनमा पनि फोहोर रहेको भन्दै मनको फोहोरले बाहिर सफा हुन नसकेको उनको भनाइ छ । उनले भने, ‘यदि मन सफा गर्ने हो भने, बाहिरी सफाइमा समस्या छैन ।’

उनले लगानी बोर्डमार्फत अघि बढेको फोहोर व्यवस्थापनमा निजी क्षेत्रको सहभागिताको प्रसङ्ग उठाउँदै भने, ‘बोर्डको प्रक्रिया टुङ्गोमा नपुगेकाले, महानगरसँग प्राप्त भएका प्रबिधिजन्य फोहोर व्यवस्थापनका प्रस्तावमाथि छलफल गर्न थालेका छौं । काठमाडौंको फोहोर निजी र गैरसरकारी क्षेत्रसँग मिलेर हिजो पनि हामीले नै व्यवस्थापन गरेका थियौं ।’

ताजा समाचार

सम्बन्धित समाचार