काठमाडौँ– राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौँ–तराई– मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)को निर्माण नेपाली सेनाले २०८१ वैशाखसम्म सक्ने भएको छ ।
नेपाल सेनाले निर्माणाधीन अवस्थामा रहेको फास्ट ट्र्याकको पछिल्लो कार्यप्रगतिबारे जानकारी दिन सोमबार सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा अबको ४ वर्षमा निर्माण कार्य सम्पन्न गरिने जनाइएको हो ।
मन्त्रिपरिषद्ले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) असोज १ गते स्वीकृत गरको थियो । १३ प्रतिशत मूल्य अभिवृद्धि कर सहित सो आयोजना सम्पन्न गर्नका लागि १ खर्ब ७५ अर्ब खर्च हुने सेनाले जनाएको छ । यो लागत पहिला अनुमान गरेभन्दा ३८ अर्ब बढी हो । डिपिआर तयार पार्नको लागि मात्रै ७ करोढभन्दा बढी खर्च भएको थियो ।
द्रुतमार्गमा ८७ वटा पुल र तीन सुरुङ मार्ग महादेब, धेद्रे र लेन डाँडा हुनेछन्।सेनाले जटिल प्रकृतिका पुलहरुको निर्माण २०७७ मा शुरु गरेर २०८० सम्ममा सक्ने जनाएको छ । अन्य पुलहरुको निर्माण २०७७ मा शुरु गरेर २०८० को पुसमा सक्ने सेनाको लक्ष्य छ ।
यस्तै तीन इन्टरचेन्ज अर्थात गाडी फर्काउने स्थान (सानो खोकना, बुदुने र निजगढ) निर्माण हुनेछन् भने दुई विश्रामस्थल र दुई टोल प्लाजा कर संकलन केन्द्र हुनेछन् । द्रुतमार्ग ७२.५ किलोमिटर हुनेछ । जटिल भूगोलमा अग्ला १६ पुलसहित ८७ पुल रहनेछ। डीपीआर तयार नहँदा अघिल्लो वर्ष विनियोजन भएको १५ अर्ब मध्ये नौं अर्ब रकम फिर्ता भएको थियो। चारलेनको द्रुतमार्गको चौडाइ पहाडी भूभागमा २५ मिटर र समथरमा २७ मिटर हुने सेनाले जनाएको छ ।