काठमाडौँ– नेपालमा वायुमण्डल र पर्यावरणबारे अध्ययन गर्न छुट्टै अनुसन्धान केन्द्र स्थापना हुने भएको छ ।
‘नेशनल एटमोस्फेरिक रिसर्च एण्ड इन्भारोमेन्टल रिसर्च ल्याब्रोटरी (नारेल)’ नाम दिइएको बल्खुस्थित जनप्रशासन क्याम्पस नजिक बन्ने राष्ट्रिय अनुसन्धान केन्द्रको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आइतबार शिलान्यास गरेका छन् । सो अनुसन्धान केन्द्रमा वायु ऊर्जा, मौसम पूर्वानुमानका साथै आणविक भट्टी दुर्घटना हुँदा पर्नसक्ने असरबारेसमेत अनुसन्धान गर्न सकिने बताइएको छ ।
अनुसन्धान भवन निर्माणका लागि सरकारले दुई करोड बजेट छुट्याएको थियो । आवासीय सुविधासहित तीनतले सो भवनको निर्माण एक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य छ । अनुसन्धान केन्द्रमा दुई दर्जनभन्दा बढी अनुसन्धानकर्ताहरुले चौबीसै घण्टा अनुसन्धान गर्न सक्ने छन् ।