नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीको एक अनाज मण्डीमा आइतबार बिहान भएको आगलागीमा ४३ जनाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार मध्यदिल्लीको झाँसी रोडस्थित अनाज मण्डीमा रहेको एक उद्योगमा आगो लाग्दा भित्र रहेका मानिसहरूको निसास्सिएर मृत्यु भएको हो। दिल्लीबाहिर बाट आएर काम गर्ने मजदुरहरू आगलागीमा परेको बताइएको छ।
३० वटा दमकलले आगो नियन्त्रणमा लिएका थिए। आगो नियन्त्रणमा आए पनि अझै केही मानिसहरू भित्र फसिरहेका छन्। ५० जनालाई बाहिर निकालिएको छ। घाइतेहरूको विभिन्न अस्पताल उपचार भइरहेको छ।
आगलागी भएको क्षेत्रका गल्ली साँघुरा भएकाले दमकललाई आगो निभाउन समय लागेको अधिकारीहरूले बताएका छन्।