काठमाडौँ– काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले खुलामञ्चलाई खुला गर्न पत्राचार गरेकी छन्।
केही दिन अघिको स्थलगत अवलोकन पछि खड्गीले आफ्नै प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गरेकी हुन्। उनले महानगरका मेयर विद्या सुन्दर शाक्यलाई समेत बोधार्थ दिएर खुलामञ्च खाली गराउन निर्देशन दिन आग्रह गरेकी छन्।
खुलामञ्चमा अनधिकृत तरिकाले सवारी साधन पार्किङ हुने गरेको भन्दै उनले यसलाई हटाउनसमेत पत्रमा भनेकी छन्। अनुगमनका क्रममा देखिएका सात तथ्यहरू पत्रमा उल्लेख छ। त्यसको समाधान पनि उनले लेखेकी छन्।
अस्तव्यस्तरूपमा राखिएको निर्माण सामग्रीका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको भन्दै अकुपाइ टुँडिखेल अभियानका अभियानकर्मीले विरोध गर्दै आएका छन्।
टुँडिखेललाई अतिक्रमणबाट जोगाउन भन्दै तीन साताअघि अकुपाईं टुँडिखेल अभियान शुरु भएको थियो। कात्तिक २३ गते पहिलो चरणको विरोधस्वरुप मानव साङ्लो बनाइएको थियो। दोस्रो हप्तामा खरीको बोट रोपिएको थियो। गत शनिबार भने साहित्यिक जमघट गरेर विरोध जनाइएको थियो।
लामो समयदेखि संरक्षण गर्दै प्राकृतिक ,सांस्कृतिक, ऐतिहासिक, राजनीतिक, सामाजिक स्वतन्त्रताको प्रत्याभूत गरिरहेको टुँडिखेल पछिल्लो समय बसपार्क, अनाधिकृत पसल सञ्चालन, पार्किङ, भवन बनाउने सामान र कामदार बस्ने ठाउँ ढलान गरी मासिदैँ आएको छ।
सोही कार्य रोक्न, टुँडिखेललाई थप अतिक्रमणबाट जोगाउन र खुल्लामञ्चलाई खुल्ला राख्नका लागि ‘अकुपाई टुँडिखेल’ अभियान शुरु गरिएको अभियानतारूको भनाई छ।
यो पनि पढ्नुहोस्: