Sunday, April 20, 2025

जलवायु परिवर्तनविरूद्धको युद्ध जित्न ऐक्यवद्धता जरूरी छ: महासचिव गुटेर्रेस

स्पेन– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वलाई जलवायु परिवर्तनविरूद्धको युद्ध जित्न ऐक्यवद्धता र लचकताको जरूरी रहेको बताएका छन् ।

स्पेनको राजधानी मड्रिडमा सोमबारबाट शुरु भएको जलवायु विश्व सम्मेलनमा महासचिव गुटेरेसले सो बताएका हुन् । साथै उनले उत्सर्जन घटाउने सन्दर्भमा तोकिएका अन्तर्राष्ट्रिय लक्ष्य भेट्न गरिएका प्रयास अपर्याप्त रहेको बताए ।

उनले जलवायु परिवर्तनका कारण थप खराब नतिजाहरू देखिँदै गएकाले यसका खतरासामु विश्व समुदाय पछि हट्नै नसक्ने स्थितिमा पुगेको चेतावनीसमेत दिए । विश्व समुदायले अब नवीकरणीय ऊर्जा प्रयोगमा ध्यान दिनुपर्ने गुटेरेसको भनाइ छ ।

मड्रिड सम्मेलनमा खासगरी विश्वका सबभन्दा धेरै प्रदूषक देशले जलवायु परिवर्तनका असरसँग जुध्ने पहलका लागि सहयोगको अपेक्षा गरिएको छ ।

पछिल्लो समय १२ डिसेम्बर २०१५ मा फ्रान्सको पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्झौतामा विश्वव्यापी तापक्रम वृद्धि २ डिग्री सेल्सियसभन्दा कम राख्ने तथा १ दशमलव ५ डिग्रीभन्दा माथि बढ्न नदिने उल्लेख छ।

संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी निकाय (आईपीसीसी) को पछिल्लो प्रतिवेदनअनुसार पेरिस सम्झौताअनुरूप विश्वव्यापी तापक्रम १.५ डिग्री सेल्सियसभन्दा बढी बढ्न नदिए एक सय वर्षमा एक वर्ष हिउँ पर्दैन । तर विश्वव्यापी तापक्रम २ डिग्री पुगे प्रत्येक १० वर्षमा १ वर्ष हिउँ नपर्ने हुन्छ।

ताजा समाचार

सम्बन्धित समाचार