विराटनगर– हिउँदे खेतीका लागि प्रदेश नं-१ मा रासायनिक मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरले जनाएको छ।
प्रदेशका १४ जिल्ला र प्रदेश नं-२ को सिरहा र सप्तरी गरी १६ जिल्लामा कम्पनीमार्फत किसानलाई सरकारी अनुदान प्राप्त रासायनिक मल आपूर्ति भइरहेको कम्पनीले जनाएको छ।
हिउँदे मौसमका लागि १३ हजार ५०० मेट्रिक टन युरिया र ११ हजार मेट्रिक टन डिएपी विराटनगरको कार्यालयमा आउने र अहिले चार हजार १५८ मेट्रिक टन युरिया र एक हजार ६१३ मेट्रिक टन डिएपी गोदाममा आइसकेको बताइएको छ। अहिले दैनिक २५ देखि ३० वटा ट्रकमा कोलकाताबाट मल आइरहेको बताइएको छ।
नेपाल सरकारले युरिया, डिएपी र पोटास मलमा किसानलाई अनुदान दिँदै आएको छ। अनुदानका कारणले प्रतिबोरा दुई हजार २०० मूल्य पर्ने युरिया रु ७०० मा र रु दुई हजार १५० मूल्य पर्ने डिएपी एक हजार ५५० मा किसानलाई सरकारले मल उपलब्ध गराइरहेको छ।
गहुँ, चिया, उखु, केरा र आलुखेतीका लागि आवश्यक पर्ने पोटास यस क्षेत्रका लागि पाँच हजार मेट्रिक टन आवश्यक रहेको र दुई महिनापछि मात्रै यो मल आइपुग्ने देखिएको कम्पनीले जनाएको छ।