Sunday, April 20, 2025

सिकार र पोथीको खोजीमा बाघको ‘सबैभन्दा लामो पैदल यात्रा’

भारत– भारतमा एक बाघले पाँच महिनाको अवधिमा १३ हजार किलोमिटर हिँडेर सबैभन्दा लामो यात्राको रेर्कड कायम गरेको छ।

साढे दुई वर्षको उक्त बाघ सिकार, वास स्थान वा पोथीको खोजीमा भौँतारिएको हुन सक्ने विज्ञहरूले अनुमान गरेका छन्। पूर्ण रूपमा वयस्क भइनसकेको उक्त बाघ भारतको महाराष्ट्र राज्यस्थित एउटा वन्यजन्तु आरक्षबाट गत जुन महिनामा हिँडेको बीबीसीमा उल्लेख छ।

त्यसपछि उक्त बाघ खेत, राजमार्ग र छिमेकी राज्यमा हिँडिरहेको पाइएको छ। अहिलेसम्म केवल उक्त बाघको एकचोटि मात्रै मानिससँग द्वन्द्व भएको बताइएको छ। शरीरमा जडान गरिएको रेडिओ कलर उपकरणले उपलब्ध गराएको विवरणका आधारमा उसको गतिविधि अध्ययन गरिएको हो। जुन महिनामा त्यहाँबाट हिँडेको बाघले महाराष्ट्र र छिमेकी तेलाङ्गना राज्यका सात जिल्लामा घुमेको पाइएको हो।

महाराष्ट्रको तिपेश्वर अभयारण्यमा सी–वन नाम दिएको उक्त बाघ टी–वन नामक बघिनीको तीन डमरुमध्ये एक हो। उक्त स्थानमा १० वटा बाघ भएको बताइन्छ।

अधिकारीहरूका अनुसार उक्त बाघ सीधा हिँडेको छैन। उसलाई जीपीएस स्याटलाइटद्वारा निगरानीमा राखिएको छ र उसको चाल प्रत्येक घण्टा हेरिराखिएको छ। उक्त बाघ दिनको समयमा लुक्ने र रातको समयमा हिँड्ने गरेको बताइएको छ। आहारका लागि त्यसले बँदेल र गाईबस्तुको सिकार गर्ने गरेको छ।

अहिलेसम्म कुनै अप्रिय घटना नभएको भएता पनि भविष्यमा त्यस्तो हुन सक्ने आशंका वन्यजन्तु विज्ञहरूको रहको छ। उक्त बाघलाई नियन्त्रणमा लिएर नयाँ स्थानमा स्थानान्तरण गर्न उनीहरूले सुझाएका छन्।  गतिविधि अनुगमन गर्ने उपकरणमा जडित ब्याटरीको शक्ति ८० प्रतिशत घटिसकेको हुँदा उक्त बाघसँग सम्पर्क विच्छेद हुन सक्ने बताइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार