Tuesday, November 19, 2024

गाउँभरी अर्गानिक तरकारी खेती

महेन्द्रनगर – कृष्णपुर नगरपालिका–६ बालुवाफाँटा पछिल्लो समय तरकारीफाँटाको रुपमा चिनिन्छ । बालुवाफाँटाका सबै परिवारले तरकारी खेती गर्न थालेपछि यहाँको नाम फेरिएको हो।

यहाँ थारु समुदायको बसोबास छ । पछिल्लो समय यहाँका सबै किसानले व्यवसायिक रुपमा तरकारी खेती गरिरहेका छन्। बालुवाफाँटामा अर्गानिक तरकारी खेती हुने गरेको स्थानीय बताउँछन् । यतिबेला प्रत्येक किसानको बारीमा अर्गानिक तरकारी खेती देख्न सकिन्छ । केही वर्षअघिसम्म परम्परागत खेती गरेर गुजारा गर्ने किसानले पछिल्लो समय व्यवसायिक रुपमा तरकारी खेती गरेको स्थानीय कालीराम चौधरी बताउँछन्।

‘केही वर्षअघिसम्म यहाँका किसान परम्परागत खेती गर्थे,’ उनले भने,‘परम्परागत खेती भन्दा तरकारी खेती राम्रो हुन थालेपछि यहाँका सबै परिवारले तरकारी लगाउन थाले ।’ १ सय ७० परिवारको बसोबास रहेको बालुवाफाँटामा सबैले तरकारी खेती गरेको उनी बताउँछन् । ‘यहाँ १/२ कट्ठा देखि २/३ विघा क्षेत्रफलमा तरकारी लगाउने किसान छन्,’ उनले भने,‘पछिल्लो समय सानो क्षेत्रफलमा तरकारी गर्ने समेत ठूलो क्षेत्रफलमा व्यवसायिक रुपमा तरकारी खेती गरिरहेका छन्।’
२ विघा क्षेत्रफलमा मौसमी तथा बेमौसमी अर्गानिक तरकारी खेती गर्दै आएको स्थानीय प्रेमबहादुर चौधरी बताउँछन्।

‘गाउँका सबै किसानले अर्गानिक तरकारी खेती गर्न थालेका छन्,’ उनले भने,‘विषादीमुक्त गाउँ बनाउने अभियान चलाएका छौं ।’ कृष्णपुर नगरपालिका र विभिन्न संघसंस्थाको प्राविधिक सहयोग पाएपछि व्यवस्थित रुपमा तरकारी खेती गर्न शुरु गरेको उनको भनाई छ। आफूले गोलभेंडा, बन्दा, काउली, खुर्सानी, आलु लगायतका तरकारी उत्पादन गर्दै आएको चौधरी बताउँछन्।

मौसमी तथा बेमौसमी तरकारी राम्रो फल्ने र भएकाले अर्गानिक तरकारी तरकारीले बजार पाउने गरेको उनले जनाए । धान गहुँभन्दा तरकारी खेतीबाट मनग्य आम्दानी हुने गरेको स्थानीय फुलमती चौधरी बताउँछिन् । ‘तरकारी बिक्री गरेर घर खर्च चालाउने गरेका छौं,’ उनले भनिन्,‘घर खर्च चलाएर बाँकी रहेको पैसा स्थानीय कृषि सहकारीमा बचत गर्ने गरेका छौं ।’ कृष्णपुर नगरपालिकाले बालुवाफाँटाका किसानलाई प्राविधिक सहयोग गर्दै आएको नगरपालिकाका नगर प्रमुख कर्णबहादुर हमाल बताउँछन्।

बालाफाँटाका किसानको मिहिनेतले कृष्णपुर नगरपालिका तरकारीमा आत्मनिर्भर भएको उनको भनाई छ । किसानको माग अनुसार सिँचाई, मल तथा बिउमा अनुदान दिएको उनी बताउँछन्। उनका अनुसार वडा नम्बर ६ को २ लाख लगानीमा गत आर्थिक वर्षमा बालुवाफाँटामा तरकारी संकलन केन्द्र स्थापना गरिएको छ। मानव स्वास्थ्य, आर्यआर्जनलाई मध्यनजर गरेर किसानलाई अर्गानिक तरकारी खेतीका लागि अनुदान दिएको नगर प्रमुख हमालले जानकारी दिए।

‘कृष्णपुर नगरपालिका–६ को बालुवाफाँटा, सिंहपुर र बनजरियालाई अर्गानिक तरकारी पकेट क्षेत्र घोषणा गर्छौ,’उनले भने,‘अर्गानिक तरकारी खेती गर्ने किसानलाई आवश्यक सहयोग गर्छौ।’ बालुफाँटाका महिला किसानले सञ्चालन गरेको सहकारीलाई तरकारी संकलन केन्द्र बनाउन सुदूरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशीको पूर्वाधार विकास कार्यक्रमले ३० लाख सहयोग गरेको छ। साना किसानलाई तरकारी बजारसम्म पुर्‍याउन समस्या हुने भएकाले तरकारी संकलन केन्द्र सञ्चालनका लागि भवन निर्माणमा सहयोग गरिएको प्रदेशसभा सदस्य जोशी बताउँछन् । किसानको तरकारी बजारसम्म पुर्‍याउन गाडीको समेत व्यवस्थापन गरिने उनको भनाई छ।

ताजा समाचार

सम्बन्धित समाचार