तमिलनाडु– भारतको तमिलनाडु राज्यमा सोमबार भारी वर्षापछि घरका पर्खाललगायतका संरचनाहरु भत्किँदा चार परिवारका कम्तीमा १७ जनाको मृत्यु भएको छ।
भारी वर्षाका कारण सोमबार बिहान ती व्यक्तिहरू सुतिरहेको अवस्थामा घरको पर्खाल भत्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । अहिले पनि उद्धार कार्य जारी रहेको बताइएको छ।
भारतीय दक्षिणी राज्य तमिलनाडुको गाउँमा भएको सो घटनामा दुई बालबालिकासहित १७ जनाको मृत्यु भएको जनाइएको छ। मुसलधारे वर्षापछि सो घटना भएको बताइएको छ।
स्थानीय समयानुसार सोमबार बिहान ५ः३० बजे सो घटना भएको टाइम्स अफ इन्डिया दैनिकले जनाएको छ।
भारतमा घरलगायतका संरचना भत्किनु एक सामान्य घटनाको रुपमा रहेको पाइन्छ। कमजोर संरचनाहरूका कारण यस्तो घटना हुने गरेको विज्ञहरुको भनाई छ। गत जुलाईमा मुम्बईमा भएको यस्तै घटनामा कम्तीमा ३० व्यक्तिको मृत्यु भएको थियो।