Thursday, September 19, 2024

जनताले प्रत्यक्ष महसुस गर्ने गरी कामको गति बढाउनुस् :खानेपानी मन्त्री

काठमाडौँ -खानेपानी मन्त्री विना मगरले द्रुत गतिमा जनताले महसुस गर्ने गरी काम गर्न विभागीय प्रमुखहरूलाई निर्देशन दिएकी छिन्।

खानेपानी मन्त्रालय र मन्त्रालय मातहत रहेका विभिन्न निकायहरूले आर्थिक वर्ष २०७६/०७७ मा गरेका भौतिक तथा वित्तीय प्रगतिकाबारे पहिलो चौमासिक समीक्षा बैठकमा बोल्दै खानेपानी मन्त्री मगरले निर्धारण गरी तोकिएका न्यूनतम लक्ष्यहरू हासिल गर्ने दिशामा भन्दा पनि द्रुत गतिमा जनताले महसुस गर्ने गरी उपलब्धि हासिल गर्न विभागीय प्रमुखहरूलाई निर्देशन दिइन्।

जनताको आधारभूत आवश्यकता पुरा गर्ने गरी काम रफ्तारमा अघि बढाउन उनले सबै प्रमुखहरूलाई निर्देशन दिइन् ।

‘अघिल्लो आर्थिक वर्ष समृद्धिको आधार वर्ष थियो । तर, अब यो वर्ष उपलब्धिको वर्ष हुनुपर्छ, उनले भनिन्, ‘जनताका आवश्यकता धेरै छन्, सँगसँगै चुनौती र समस्या पनि उत्तिकै छन् । आवश्यकता र जनताको मौलिक अधिकारलाई ध्यान दिएर हामीले कार्य अघि बढाउनुपर्नेछ ।’ थप जोड दिँदै उनले भनिन्, ‘आधार वर्ष मात्रै भनेर सधैंभरि यो छुट हामीलाई छैन । कामको प्रगति हिसाबमा भन्दा पनि जनताले महसुस गर्ने गरी काम अघि बढाउनुस् ।’

उनले खानेपानी र सरसफाइ जस्तो कुरा जनताको मौलिक अधिकारको विषयसँग जोडिएकाले दिगो विकासका लक्ष्य हासिल गर्न धेरै मेहनत गर्नुपर्ने औँल्याइन् । मन्त्री मगरले भनिन्, ‘मन्त्रालयको यो पहिलो चौमासिक समीक्षा अवधि सन्तोषजनक नै छ तर यतिले मात्रै पुग्दैन । हामीले लक्ष्य पुरा गर्न धेरै सङ्घर्ष गर्नुपर्ने छ । आयोजना अगाडि बढाउने सवालमा खानेपानीको क्षेत्रमा धेरै समस्या छन् । एकातिर सामाजिक समस्या छन् अर्कोतिर जनशक्तिको अभाव छ । अभावका बिच जनताले प्रत्यक्ष लाभ पाउने महसुस गर्ने गरी काम गर्नुपर्ने छ ।’

समीक्षा बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा दिलबहादुर गुरुङले पुँजीगत खर्च बढाउने गरी आयोजनाका कामहरू दु्रत गतिमा अघि बढाउन आग्रह गरे। सदस्य डा। गुरुङले पन्ध्रौं योजनाका लक्ष्यहरू हासिल गर्ने दिशामा अझ बढी केन्द्रित रहन सुझाव दिए। निर्माणाधीन मात्रै नभई सम्पन्न भईसकेका आयोजनाहरूको अवस्था के कस्तो छ भनेर ध्यान दिन उनले आग्रह गरे । नेपाल खुला दिसामुक्त देश घोषणा भईसकेकाले अब पूर्ण सरसफाइ कार्यक्रम अन्तर्गत देशैभरि सार्वजनिक शौचालयहरू निर्माण गर्ने गरी कार्य अघि बढाउन डा। गुरुङले जोड दिए।

मन्त्रालयका सचिव माधव बेल्बासेले देशैभरिको खानेपानीको समस्या समाधान गर्न आयोजनाहरू अघि बढेपनि जनशक्तिको ठुलो अभावले समस्या आइरहेको बताए। सचिव बेल्बासेले खानेपानीको क्षेत्रमा प्राविधिक जनशक्तिको अभावले आयोजनाहरूको काममा ढिलाइ भइरहेको समस्या औंल्याए। त्यस्तै उनले मेलम्ची खानेपानी आयोजनाको काममा काम गर्ने वातावरण बनाईरहन सम्बन्धित सबै पक्षसँग आग्रह गरे।

समीक्षा बैठकमा खानेपानी तथा ढल व्यवस्थापन विभागको आर्थिक वर्ष २०७६(०७७ को पहिलो चौमासिक अवधिमा भौतिक प्रगति ७६ र वित्तीय प्रगति २० प्रतिशत रहेको जानकारी विभागका महानिर्देशक सुनिलकुमार दासले दिए ।

खानेपानी विभाग अन्तर्गत रहेका खानेपानी तथा सरसफाइ सहलगानी कार्यक्रम आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत र सहरी खानेपानी तथा सरसफाइ आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत रहेको जानकारी महानिर्देशक दासले दिए।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीले राष्ट्रिय गौरवको मेलम्ची आयोजनाको बाँकी रहेको हेडवक्र्स निर्माण र सुरुङको फिनिसिङ कार्यको काम धमाधम अगाडि बढिरहेको जानकारी दिए। चालु आर्थिक वर्षभित्रै मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउने उद्देश्यले काम अगाडि बढिरहेको बताउँदै कार्यकारी निर्देशक खत्रीले भोलिका दिनमा काम गर्ने वातावरण नबिग्रने गरी अघि बढ्न सरकारका सबै निकायहरूबिच समन्वय जरुरी रहेको बताए।

मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले देशभरि नै आधारभूतस्तरको खानेपानी सेवाबाट लाभान्वित हुने जनसङ्ख्या यही आर्थिक वर्षभित्र ९२ प्रतिशत पुग्ने जानकारी दिए। सहसचिव दुवाडीले उच्च मध्यमस्तरको खानेपानी सेवाबाट अहिलेसम्म २१ प्रतिशत जनसङ्ख्या लाभान्वित भएकोमा यो सङ्ख्या बढेर २५ प्रतिशत पुग्ने उल्लेख गरे।

पहिलो चौमासिक अवधिमा काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको भौतिक प्रगति ९३ प्रतिशत र वित्तीय प्रगति ७२ प्रतिशत रहेको जानकारी गराइयो । बोर्डका कार्यकारी निर्देशक डा। संजीव विक्रम राणाले काठमाडौँ उपत्यकामा जमिनमुनीको पानीको अवस्था के कस्तो छ भन्ने कुरा पत्ता लगाउन नयाँ प्रविधिको मद्दतले काम अगाडि बढाइएको बताए।

समीक्षा बैठकमा पहिलो चौमासिक अवधिमा ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको भौतिक प्रगति ३० प्रतिशत र वित्तीय प्रगति ११ प्रतिशत रहेको जानकारी कार्यकारी निर्देशक चोकप्रसाद धितालले गराए। यो अवधिमा ग्रामीणस्तरमा ३५ वटा खानेपानी आयोजना सम्पन्न भएको उनको भनाइ छ ।

ताजा समाचार

सम्बन्धित समाचार