Thursday, September 19, 2024

मंगलीको संरक्षण प्रयासः हरियाली र सफा बन्दै ठूलीभेरी नदी

डोल्पा – छेउमा ठूलीभेरी नदी कलकल बगिरहेको छ । चिसो हावाले चुमिरहेछ । निश्चय नै यो शीतलता यहाँका रुखहरूले दिएका हुन्

ठूलीभेरी नगरपालिका–३ की स्थानीय मंगली रोकायाले यी रूखहरू हुर्काउन धेरै मिहिनेत गरेकी छन्। यी बिरुवासँग मंगली रोकायाको सामिप्यता विगत २३ वर्ष अघिको हो। विभिन्न सरकारी तथा गैर सरकारी निकायको पहलमा वि.स.२०५३ सालमा ‘मूलपानी महिला एकता पार्क’ नामको संस्था दर्ता गरेर हरियाली अभियानमा लागेकी हुन् मंगली रोकाया। सबैको सहकार्यमा वृक्षरोपण गर्ने काम भयो। ती बिरुवा हुर्काउने दायित्व पुरा गरेकी मंगलीले त्यसबेलादेखि अहिलेसम्म संस्थाको नेतृत्व सम्हालेकी छन् ।

‘यहाँ आयो भने शरीर नै हल्का हुन्छ । पहिला बिरुवा मर्छन् कि ? अर्काले हाँगा काट्छ कि ? भन्ने चिन्ता थियो । अब रुख हुर्के ढुक्क छु । बजेट माग गरेर पार्क बनाउँछु । गर्मीको समयमा चिया खाने बस्ने बनाउने हो,’ मूलपानी महिला एकता पार्ककी अध्यक्ष मंगलीले भनिन्। ठूलीभेरी नदीको छेउमा खाली रहेको करिब ३ कट्टा जमिनमा मंगलीले बिरुवाहरू हुर्काएकी छन् । यहाँ डालेघाँस र फलफूलका बिरुवाहरू रहर लाग्दो गरी हुर्किएका छन् । बिरुवा हुर्किएपछि यहाँको कटान रोकिएको छ ।

‘यो ईपिलिपि जातको नयाँ घाँस हो । वृक्षरोपण दुनैमा हुनुपर्छ भन्ने काम स्मरण योग्य नै हो, ’ठूलीभेरी नगरपालिका–३ दुनैका हंशबहादुर शाहीले भने,‘उहाँले गरेको काम सराहनीय छ । उहाँको अनुभवले सामाजिक काम गर्नु नै राम्रो काम हो, कदर गर्नुपछ ।’

बिरुवा हुर्काउन गाह्रो हुने ठाउँमा मंगलीले जङ्गल बनाएको स्थानीय लालीमान बुढाले बताए । ‘यो ठाउँमा बिरुवा हुर्काउन गाह्रो छ । तर, अहिले जङ्गल भइरहेको छ । उहाँहरूको अथक प्रयासले नै यो सम्भव भएको हो,’उनले भने, ‘अहिले यो ठाउँमा धेरै प्रजातिका चराहरूको बासस्थान छ । भँगेराहरू धेरै छन् ।’

मंगली रोकायाको बिरुवाप्रतिको मोह अनौठो किसिमको छ । सन्तानलाई जस्तै स्याहारसुसार गरी बिरुवा हुर्काउने हिम्मत राखेपछि उनलाई सबैले साथ दिए । उनको उत्साह बढ्दै गयो । यही उत्साहले उनलाई सफलता मिल्यो । सामाजिक तथा पारिवारिक समस्याको बहानामा पछि हटेको भए आज उनी नेतृत्वमा सफल हुने थिइनन् ।

‘पहाडमा पहिरो आउनुु त बोटबिरुवा नभएर पहिरो आएको हो । जहाँ नाङ्गो डाँडो छ, त्यहाँ वृक्षरोपण गर्‍यो भने पहिरो आउँदैन,’ मंगलीले भनिन्, मेरो काम समाजमा छ । मनले समाज सेवा गर्छु भन्यो भने सकिँदो रैछ ।’ उनले डोल्पा जिल्लाको अस्पताल परिसरमा हुर्किरहेका बिरुवाको संरक्षण गर्ने जिम्मा पनि लिएकी छन् । यो त एक उदाहरण हो, हरियाली अभियानमा उनको यस्तो सक्रियता धेरै स्थानमा छ । यही सक्रियताले संरक्षण क्षेत्रमा उनको पहिचान उँचो छ ।

यतिमात्र होइन दुनैको अर्को पहिचान ठूलीभेरी नदी हो । यहाँ फोहोर बढ्दै गएको छ । यो अवस्थालाई नजिकैबाट नियालेकी मंगलीले नदीलाई स्वच्छ बनाउने विषयमा पनि लामो समयदेखि आवाज उठाउँदै आएकी छन् । यसका लागि विभिन्न क्षेत्रका व्यक्तिसँग सल्लाह सुझाव र सहकार्य गरिरहेकी छन् । यो कामलाई अझै दीर्घकालीन बनाउने सोचमा छिन् उनी ।

‘नदी फोहोर गर्नु राम्रो होइन । नदी सफा राख्नुपर्छ । नदीमा पूजा गर्नुपर्छ । नजान्नेहरू फोहोर गर्छन् नदी । नदीमा फोहोर नगरौँ भनेर सबै जना लाग्र्नुपर्‍यो । धेरै फोहोर नगर भन्दा नदीतिर घर भएका मान्छेहरू मान्दै मान्दैनन् । उनीहरूलाई सजाय नदिएसम्म रोकिँदैन । सफा राखौँ भन्नुपर्छ, भन्नु जरुरी छ,’ उनले भनिन्,‘नदीमा ढल नमिसाऊँ भनेर वडासँग मिलेर काम गर्छु । रुखसँग नै मेरो माया बसेको छ । असाध्यै माया लाग्छ । अझै रोप्न मन लाग्छ । रोप्ने ठाउँ पाउँदैन ।’ निरन्तरको यो प्रयासका कारण मंगलीलाई दैवी प्रकोप नियन्त्रणमा काम गरेको भन्दै सम्मान मिल्यो । ‘वातावरण संरक्षणकर्मीको’ उपाधि मिल्यो । सम्मानहरू थपिँदै गए । यो सम्मानले उनलाई हौसला मिलेको छ ।

साना दुःखले ठूलीभेरी नदीका छेउमा यी रुखहरू यति ठूला हुने सम्भव थिएन । तर, मंगली रोकायाको जुन भूमिका रह्यो, यसले नदी तटीय क्षेत्रलाई हरियाली बनाउन मद्दत पुगेको छ । नेपालमा यहाँ जस्तै नदी तटीय क्षेत्रमा थुप्रै जमिन बाँझै छन् । यस्ता क्षेत्रहरूमा वृक्षारोपण गर्न सके संरक्षणमा पनि सहयोग पुग्ने छ । हामी जहिले पनि संरक्षणको काम गर्दा ठुलो योजना, बजेट र स्थान छैन भनेर गुनासो गर्छाैँ । जाँगर चलाउने हो भने सानो क्षेत्रमा गरेको प्रयास पनि वातावरण र सम्पूर्ण प्राणी जगतका लागि हितकारी हुने रहेछ भन्ने सन्देश दिएकी छिन् मंगली रोकायाले ।

ताजा समाचार

सम्बन्धित समाचार