Thursday, September 19, 2024

मच्छिम र काफलडाँडामा बिजुली बलेपछि खुशीयाली

म्याग्दी -म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिम र काफलडाँडामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरण र धवलागिरि गाउँपालिकाको सहयोगमा बुधबारदेखि बिजुली बलेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । साविक ताकम गाविसको ८ नं वडामा पर्ने मच्छिमका ११२ र काफलडाँडाको ४२ घरमा बिजुली बलेको ताकम विद्युतीकरण उपभोक्ता समितिका सचिव तेजेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार यसअघि ताकम, हिलापोखरी र शिवाङका ३५० घरमा बिजुली बलिसकेको छ । बिजुली बलेपछि स्थानीयवासीमा खुशीयाली छाएको काफलडाँडाका बालकृष्ण आचार्यले बताए। काफलडाँडाका बासिन्दाले विद्युत् प्राधिकरणका प्राविधिक र उपभोक्ता समितिका पदाधिकारीलाई सम्मान गरेका थिए ।

उज्यालोका साथै विभिन्न उद्योग व्यवसाय सञ्चालन गर्न, मोबाइल चार्ज गर्न, टेलिभिजन हेर्न, कम्प्युटर, ल्यापटप चलाउन सहज भएको स्थानीय शिक्षक हेमराज शर्माले बताए। खाना पकाउन दाउराको विकल्पमा विद्युतीय उपकरण प्रयोग गर्न थालेका छन् । फर्निचर, ब्लक, राइसमिल, कुखुरापालन सञ्चालन गर्न सकिने भएको छ । यसअघि उज्यालोका लागि पेल्ट्रिक सेट, सौर्य उपकरण र मट्टितेलको टुकी प्रयोग गर्दै आएका थिए । ताकम विद्युतीकरण योजनामार्फत ५५२ घरमा विद्युतीकरण गर्ने लक्ष्य थियो ।

आरखोला टोल र छिटपुट ४२ घरबाहेक वडाका सबै बस्तीमा विद्युतीकरण भएको सचिव थापाले बताए। आरखोलामा पनि बिहीबार बिजुली बाल्ने तयारी भएको छ । यसअघि धारापानीमा २०१ घरमा गत वर्ष गाउँपालिकामै पहिलोपटक विद्युतीकरण भएको थियो । ताकम विद्युतीकरण धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको गौरवको आयोजना भएको वडाध्यक्ष कलानिधि सुवेदीले बताए। विद्युत् प्राधिकरणले केन्द्रीय लाइन विस्तार, पोल गाड्ने, ट्रान्सफर्मर जडान, ढुवानी गरेको थियो ।

गाउँपालिकाबाट गत आर्थिक वर्षमा विनियोजन भएको रु ८० लाखमध्ये ५७ लाख खर्चेर उपभोक्ता समितिले ८८ किलोमिटर तार खरीद गरेका थिए । धवलागिरि गाउँपालिकामा विद्युतीकरणका लागि सङ्घीय सरकारले गत वर्ष विनियोजन गरेको रु चार करोड ५० लाख बजेटबाट दुई ठेकेदार कम्पनीलाई ठेक्का दिएको थियो ।

पहिलो चरणमा ढुङ्गाना निर्माण सेवा र दोस्रो चरणमा आचार्य निर्माण सेवाले ठेक्का पाएका थिए । दुवै कम्पनीमार्फत ताकम, हिलापोखरी, शिवाङ, काफलडाँडा र मच्छिममा ४१७ पोल गाड्ने, पाँच थान ट्रान्सफर्मर ढुवानी गर्ने र करीब ६७ किलोमिटर मुख्य तथा सहायक लाइनको तार तानिएको प्राधिकरणको बेनी वितरण केन्द्रका इञ्जिनीयर हेमराज चापागाईंले बताए।रासस

ताजा समाचार

सम्बन्धित समाचार