बस्तीको बीचमा उद्योग, २४ सै घण्टा विषाक्त धुवाँ

नुवाकोट –नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित रातमाटेमा हिजोआज बिहान अबरेसम्म बाक्लो तुवाँलो लाग्छ। चारैतिर कालो धुवाँ अनि बाक्लो तुवाँलोले सय मिटर भन्दा परका वस्तु ठम्याउनै धौ धौ पर्छ।

तर, आज भन्दा दश वर्ष अगाडिको अवस्था यस्तो थिएन । त्यतिबेला पनि हिउँद लागेसँगै तुवाँलो नलाग्ने भने होइन, तर त्यो तुवाँलो र यो तुवाँलोमा आकाश–जमिनको फरक छ।
त्यतिबेला तुवाँलो लागेपनि केही टाढासम्मको वस्तु प्रष्ट देख्न सकिन्थ्यो। बिहान केही बेर तुवाँलो लागेपनि एकैछिनमा आकाश खुलिहाल्थ्यो, न्यायो घाम लाग्थ्यो र वरपरकाे वातावरण छ्याङग हुने गर्दथ्यो।

तर, अहिले घामको मुख देख्न मध्यान्ह नै कुनुपर्छ र कहिलेकाँही त दिनभर नै मौसम खुल्दैन्। यसका पछाडि धेरै कारण होलान, जस्तो जलवायु परिवर्तनको असर, सडक विस्तारका क्रममा उडेको धुलो, बढ्दो शहरीकरण, जथाभावी स्थापना भएका इट्टाभट्टाहरू लगायत।

तर, यस पछाडिको मुख्य कारण हो, यस क्षेत्रमा रहेका उद्योग र कलकारखानाले चौबिसै घण्टा उत्सर्जन गर्ने धुवाँ। यस क्षेत्रमा रहेका विभिन्न उद्योगले चौबिसै घण्टा निरन्तर फाल्ने धुवाँले यस क्षेत्रको वातावरणमा कति नकारात्मक असर गरेको छ, सहजै अनुमान गर्न सकिन्छ। ती उद्योगले निरन्तर उत्सर्जन गर्ने धुवाँले स्थानीय जनताको स्वास्थ्यमा पारिरहेको गम्भीर असरबारे छेवैकाे राजमार्गबाट दिनहुँ आवतजावत गर्ने जोकोहीले अनुमान लगाउन सक्छ।


यसले वातावरणीय प्रदूषण बढेको त छँदैछ त्यहाँका बालबालिकाहरूमा समेत नकारात्मक असर गरिरहेको छ। यसको विरुद्धमा केही स्थानीय बोलिरहेका छन्, तर, उनीहरूको आवाज सुनिएको छैन्। कतिपय स्थानीयहरू माथिल्लो निकायले समस्याको समाधान गर्छ भन्दै गुपचुप छन्। किनकी यी उद्योगले उनीहरूलाई पानी र अन्य सुविधा दिएको छ। त्यही सुविधा पाएका कारण उनीहरू आफ्नो स्वास्थ्यमा असर गरेपनि केही बोलिरहेका छैनन्।

प्रदूषणले आफूलाई पारेका असरका बारे सम्बन्धित निकायसम्म पहल गरिदिन हाकाहाकीलाई अनुरोध गर्दै स्थानीयवासी भुवनदास श्रेष्ठ भन्छन्, ‘प्राय धुवाँ आइरहन्छ। घरको छतमा बस्न सकिँदैन, बच्चाहरूको आँखामा यसले गर्दा असर परिरहेको छ । धुवाँ घरभित्रै छिरिरहेको छ । यसका लागि तपाईहरूले पहल गरिदिनुपर्‍यो।’

त्यसैगरी कपडा उद्योगको सबैभन्दा नजिक र ठ्याक्कै अगाडि घर भएका प्रल्हादभक्त राई भन्छन्, ‘असर त परेको छ तर माथिल्लो निकायले यसको समाधान गर्छु भनेकाले हामीले केही बोलेका छैनौँ।’

त्यहाँको उद्योग, इट्टाभट्टा लगायतले त्यो क्षेत्र मात्र नभइ माथिल्लाे भेगमा  समेत असर पारिरहेको छ। पहिले सफा रहने मौसम आजकाल प्राय धुम्म हुन थालेको छ । पुस लागेपछि मात्र बेसीबाट उमो लाग्ने तुवाँलो अहिले मंसिर शुरु नहुँदै माथि डाँडामा पुग्छ। यसरी मंसिर शुरु नहुँदै कालो तुवाँलो लागेपछि आलु उत्पादनमा असर पुग्ने बेलकोटगढी–९ भट्टथोकका कृषक राजकुमार भट्टको गुनासो छ। ‘पहिला आलु रोप्ने बेलामा आकाश खुला हुन्थ्यो, अहिले घामको मुख देख्नै गाह्रो पर्छ, घाम नै नलागेपछि कसरी फल्छ आलु,’ उनले भने।
यस सम्बन्धमा हाकाहाकीले नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलसँग जिज्ञासा राख्दा यसलाई नियन्त्रण गर्न  स्थानीय निकायसँग समन्वय भइरहेको बताए।

‘उद्योग सञ्चालनका लागि विभिन्न मापदण्ड तोकिएको छ। सोही अनुसार उद्योग सञ्चालन गर्नुपर्छ,’ उनले भने, ‘अहिले स्थानीय निकायको स्वीकृति लिएर पनि उद्योगहरू सञ्चालनमा आइरहेका छन्, यस विषयमा हामी विस्तृत रुपमा बुझ्छौँ। यदि त्यस्तो रहेछ भने कारवाही हुन्छ।’

ताजा समाचार

सम्बन्धित समाचार