काठमाडौँ – समयमै र गुणस्तरीय निर्माण हुन नसकेकामा असन्तोष बढिरहेका बेला नेपालसहित अन्य १३ मुलुकका विज्ञहरुको सम्मेलनले १२ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ।
स्क्याफटले तीन दिनसम्म काठमाडौँमा आयोजना गरेको ‘उज्ज्वल भविष्यका लागि उत्थानशील निर्माण’ विषयक सम्मेलनमा सहभागी विज्ञले खुल्ला प्रतिस्पर्धाका नाममा अति न्यून रकममा ठेक्का दिने व्यवस्था कानूनतः अन्त्य गर्न सुझाव दिएका छन्। उनीहरुले काम गर्नसक्ने दररेटमा प्रतिस्पर्धा गर्नुपर्ने र व्यावसायिक संस्थाले पनि सामाजिक उत्तरदायित्वअन्तर्गत कम्तीमा एक प्रतिशत रकम उत्थानशील संरचना निर्माणमा लगानी गर्नुपर्नेमा जोड दिएका हुन्।
विज्ञहरुले निर्माण क्षेत्रमा दक्ष कामदारको उत्पादन, निर्माणका प्रत्येक चरणमा सबै सरोकारवालाको सार्थक सहभागिता र नेपालका ठूला आयोजनामा नेपाली परामर्शदाता तथा निर्माण व्यवसायीलाई संलग्न गराउन सके उत्थानशील संरचना निर्माण हुनसक्ने दाबी गरेका छन्।
नेपालले गोर्खा भूकम्पपछि सिकेका अनुभवलाई विश्व समुदायसम्म पु¥याउन आवश्यक रहेको सम्मेलनका सहभागीहरुको जोड दिइरहेका बेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवालीले धरहरा पुनर्निर्माणसँगै भूकम्प सङ्ग्रहालय बनाउने तयारी गरिरहेको जानकारी दिए । उनले विश्वविद्यालय तहमा छुट्टै अनुसन्धान केन्द्रको स्थापनासमेत गर्न लागिएको बताए ।
तीन दिनको सम्मेलन उत्थानशील संरचना निर्माण, यसका चुनौती, जारी प्रयत्न, नवीनतम् प्रविधि र पुरातत्व संरक्षण लगायतका विषयमा केन्द्रित रहेर विज्ञका कार्यपत्र प्रस्तुति रहेको स्क्याफका महासचिव कृष्ण सापकोटाले जानकारी दिए।
स्क्याफको २९औँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा अमेरिकास्थित नेपाली इन्जिनीयरहरुको संस्था र सिइएआईसँग स्क्याफले छुट्टा छुट्टै सम्झौता गरेको सम्मेलन व्यवस्थापक ठाकुरप्रसाद शर्माले जानकारी दिए।
सम्मेलनको समापनमा समारोहमा स्क्याफका अध्यक्ष राजेश थापाले घोषणापत्रको कार्यान्वयनमा सबै पक्ष जिम्मेवार हुने अपेक्षा गरे। सम्मेलनको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए।