Sunday, September 8, 2024

विश्व शौचालय दिवस : ‘पहिले पानी थियो शौचालय थिएन, अहिले शौचालय छ पानी छैन्’

काठमाडौँ – कुनैबेला पानीसँग खेल्ने नेपाली आजभोली पिउन पनि संघर्ष गर्नुपर्ने अवस्थामा पुगेका छन्। विशेषगरी पहाडी भेगमा एक ग्रागी पानी ल्याउन घण्टौँ हिड्नु पर्ने अहिलेको बाध्यता बनेको छ। काकाकुल बनेका नेपालीलाई अहिले शौच गर्न समेत पानीको अभाव छ।

पहिला जताततै प्रशस्त पानीका मुहान हुन्थे, धारा, कुवा, पँधेरोमा पानीको छेलोखेलो हुन्थ्यो । त्यतिबेला सबै स्थानमा शौचालय बनेको थिएन्, मानिसहरू खुल्ला स्थानमै शौच गर्ने गर्थे। तर, अहिले परिस्थिति बदलिएको छ । सरकारी तथा गैर सरकारी संस्थाको सहयोगमा गाउँ गाउँका प्रत्येक घरमा शौचालय बनेको छ।

यही शौचालय बन्नुलाई नै आधार बनाएर सरकारले नेपाललाई खुला दिसामुक्त राष्ट्र पनि घोषणा गरिसकेको छ। तर, ग्रामीण भेगका ति शौचालय प्रयोगमा आएका छन् त ? निश्चय नै छैनन्। किनकी शौचालय प्रयोगको अपरिहार्य पूर्व शर्त पानीको उपलब्धता नै छैन । विशेषतः ग्रामीण भेगमा पुराना पानीका मुहान सुकेका छन् । यतिमात्र होइन शौचालय प्रयोगका लागि आवश्यक अन्य पक्षहरू जस्तै ः साबुन, शौचालय सफा गर्ने उपकरण लगायत पनि सबै ठाउँमा उपलब्ध छैन।

अत्यावश्यक पूर्वाधार नै नभएपछि बनेका शौचालय पनि प्रयोगविहीन छन्। नुवाकोटको बेलकोटगढी नगरपालिका–९ की पूर्णमाया तामाङ शौचालय बने पनि पानी नभएकाले खोलामै शौच गर्ने गरेको बताउँछिन्। ‘शौचालयमा पानी नै हुँदैन, बरु खोलामा गयो आनन्द,’ उनले भनिन्। यो त एउटा उदाहरण मात्र हो देशभर पानी तथा अन्य पूर्वाधारको अभावमा बनेका शौचालय पनि प्रयोगविहीन भएका छन् ।

देशलाई खुला दिसामुक्त राष्ट्रको रुपमा घोषणा गरेपनि शतप्रतिशत शौचालयको प्रयोगमा भने उपलब्धी हासिल गर्न नसकेको खानेपानी तथा सरसफाइ मन्त्रालय आफैँ स्वीर्काछ।

मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्य शौचालयको पहुँच भएपनि सबैले प्रयोग नगरेको बताउँछन्। हाकाहाकीसँग कुरा गर्दै उनले पानी, तथा अन्य आधारभूत पक्षको कमीका कारण सबैले शौचालयको प्रयोग नगरेको बताए।

‘अहिले देशको प्रत्येका घरमा एउटा शौचालय बनेको छ तर प्रयोग भने हुन सकेको छैन्,’ उनले भने, ‘मानिसमा शौचालय प्रयोगको बानी, सबै स्थानमा पानीको पहुँच लगायतका कारण अझै पनि सबै मानिस शौच गर्न खुला स्थानमै जाने गरेका छन्।’

प्रत्येक घरमा शौचालय बन्नु नै पहिलो उपलब्धी भएको र प्रयोगका लागि विभिन्न कार्यक्रम मार्फत पहल भइरहेको उनले जनाए।

यसका साथै पहिले देखि नै खुला स्थानमा शौच गर्ने बानी परेको मानिसलाई शौचालय प्रयोग गर्न समय लाग्ने उनको भनाइ छ।

देशभर प्रत्येक घरमा शौचालय बने पनि प्रयोगको अपरिहार्य पूर्व शर्त पानीको उपलब्धता पूरा हुन सकेको छैन् । खानेपानीका लागि नै घण्टौँ लगाएर जम्मा गर्नुपर्ने स्थितिमा शौचालयको लागि पानी उपलब्ध गराउनु अर्को चुनौती रहेको प्रवक्ता शाक्यको धारणा छ।

अहिले सरकार देशको प्रत्येक घरमा खानेपानी पु¥याउन तर्फ लागेकोले अबको तीन वर्षमा पानीको उपलब्धतासँगै शौचालयको प्रयोग पनि शतप्रतिशत हुने उनको विश्वास छ। ‘अहिले खानेपानीका लागि नै समस्या छ, शौचालयमा प्रयोग गर्न झन चुनौती थपिएको छ। तर, अबको तीन वर्षमा हामी देशको प्रत्येक घरमा पानीको पहुँच हुनेगरी काम गरिरहेका छौँ। त्यसपछि भने देशभर पूर्णरुपमा शौचालयको प्रयोग हुन्छ,’ उनले भने।

शौचालयको प्रयोगमा आएको यो समस्यालाई स्थानीय श्रोत साधनको प्रयोगबाट नै समाधान गर्नुपर्ने यस क्षेत्रमा विगत लामो समयदेखि काम गरिरहेका वातावरणविद् भुषण तुलाधर बताउँछन्।

‘अहिले कतिपय स्थानमा पानीको अभावका कारण शौचालय प्रयोगमा आउन सकेको छैन,’ उनले भने, ‘त्यस्तो स्थानमा पानीको कम प्रयोग हुने वा गर्नै नपर्ने खालका शौचालय बनाउनुपर्छ ।’ नेपालको हिमाली क्षेत्रका शेर्पाहरूले पहिले प्रयोग गर्ने शौचालय(पानी बिनै शौच गर्न सकिने)लाई आधुनिक तवरले बनाउने हो भने हालको समस्या केही हदसम्म भएपनि कम हुने उनको भनाइ छ ।

यसका साथै शौचालयको प्रयोग गर्ने बानी नभएकाहरूलाई विभिन्न अभियान मार्फत प्रयोगमा प्रोत्साहन गर्ने, आकाशे पानी संकलन विधि अपनाउने, लिफ्ट मार्फत पानी लैजाने जस्ता कार्य गर्न सके देशभरका शतप्रतिशत मानिसले खुला स्थानमा शौच गर्न छाड्ने उनले जनाए।

हाल देशभर शौचालय बने पनि पानीको अभाव, खाल्डे चर्पी भएको स्थानमा भरिने डर, शौचालय प्रयोगको बानी, लगायतका विविध कारणले मानिस खुला स्थानमै शौच गरिरहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार