Friday, September 20, 2024

महिलामाथि डोजर चलाउने चालक जेल चलान

कैलाली– जिल्ला अदालत बैतडीले दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा महिलामाथि डोजर चलाउने चालकलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ।

अदालतले डोजर चालक किशोर बोहरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको हो। जिल्ला न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले चालक बोहरालाई थुनामा पठाउनका लागि आदेश दिएको हो।

त्यस्तै चालक बोहरालाई महिलामाथि डोजर चलाउन उक्साउने डोजर मालिक भानी जोशी, स्थानीय भोजराज जोशी र धर्मानन्द जोशीलाई जनही ५० हजार रुपैयाँमा धरौटीमा रिहा गर्ने आदेश समेत दिएको छ।

कात्तिक ४ गते ग्वाल्लेकको चिलाउनेमा सडक निर्माण गर्ने क्रममा सडक निर्माण गर्ने र सडक निर्माण गर्न नदिने पक्षबिच विवाद भएको थियो। सोही विवादमा स्थानीय गौरी जोशीमाथि डोजर चलाइएको थियो।

स्थानीयहरूले आफ्नो जमिनमा जबरजस्ती डोजर चलाएको अवरोध गर्दा डोजर चालकले जोशीमाथि डोजर चलाएको थियो। डोजर चलाउने चालक किशोर बोहरालाई प्रहरीले कात्तिक ४ गते नै पक्राउ गरेको थियो।

यस्तै डोजर चलाउन उक्साउने डोजर मालिक भानीदत्त जोशी, स्थानीयहरू भोजराज जोशी र धर्मानन्द जोशीलाई कात्तिक ६ गते पक्राउ गरेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार