Friday, September 20, 2024

पर्यटक भित्र्याउन पदमार्गमा लगानी गर्दै स्थानीय तह

बलेवा- पर्यटक भित्र्याउने योजना बनाएका बागलुङका सबै स्थानीय तहले पदमार्गलाई प्राथमिकता दिएका छन् । उनीहरुले एक वर्षे, बहुवर्षे र दीर्घकालीन योजनासमेत बनाएर गन्तव्य बनाइरहेका हुन् ।

पदमार्गमार्फत पर्यटकीय क्षेत्रमा जाने र पर्यटकीय क्षेत्रमा पनि लगानी गरेर आर्कषण थप्ने काममा स्थानीयतह लागेका हुन् । सदरमुकामको बागलुङ नगरपालिका, गलकोट नगरपालिका, जैमिनी नगरपालिकासहित गाउँपालिका तहमा पनि पदमार्गमा लगानी बढाइएको हो । गत आर्थिक वर्षदेखि काम थालेको बागलुङ–५ को मालिकामा पदमार्गमा लगानी गरिएको छ । सो वडाको मालिकादेखि संसारकोटतर्फ पदमार्ग निर्माण थालिएको वडाध्यक्ष शिवप्रसाद सापकोटाले बताए।

गत वर्ष रु पाँच लाख खर्चेर मालिकातर्फको ५०० मिटर सिँढी ढलान गरिएको छ । चालू वर्षदेखि निरन्तर बजेट राखेर यो पदमार्गलाई गन्तव्यसम्म लैजाने उनले बताए। स्थानीय ढुङ्गा उपलब्ध भएसम्म ढुङ्गाकै सिँढीमार्फत पदमार्ग निर्माण गर्न लागिएको हो भने केही स्थानमा ढलान गरेर पदमार्ग बनाइएको हो । केही खण्डमा भने कच्ची सिँढीसमेत बनाइएको छ । चालू वर्षमा माटोको मात्र सिँढी बनाउने र आगामी वर्ष ढलान गरिने सापकोटाले योजना सुनाए।

“प्रारम्भिक तयारी पछि बजेट प्राप्त हुँदा सिँढी बनाउने योजना छ”, उनले भने । यो पदमार्गकै बाटो संसारकोटसम्म पदयात्रा पनि गरिएको छ । नेपाल भ्रमण वर्षका लागि आन्तरिक पर्यटक भित्र्याउन पदमार्ग निर्माणमा जोड दिइएको उनको भनाइ छ । जिल्लाका अधिकांश गाउँपालिकाले पदमार्गमार्फत आन्तरिक पर्यटक आर्कषण गर्ने लक्ष्य बनाएका छन् ।

गलकोट–७ को मल्मदेखि राम्चे ढुङ्गाको बाटो भएर घुम्टे जान पदमार्ग निर्माण थालिएको छ । गलकोटककै वडा नं ५ हरिचौरदेखि घुम्टे जाने टेउवामा पनि पदमार्गको काम भइरहेको छ । घुम्टे जिल्लाकै अग्लोमध्येको पहाड हो । त्यहाँ पुग्न पाँच घण्टा पैदल हिँड्नुपर्छ । ऋषिमुनिले तपस्या गरेको स्थानका रुपमा चिनिएको राम्चेढुङ्गा र गुफाचौरलाई चिनाउन घुम्टे पुग्ने पदमार्ग निर्माण थालिएको राम्चेढुङ्गा पर्यटन विकास समितिका अध्यक्ष विष्णु थापाले बताए।

राम्चेढुङ्गामा प्याराग्लाइडिङको सफल परीक्षणसमेत गरिएको छ । टेउवादेखि घुम्टे जाने पदमार्गमा नियमित पर्यटक हिँड्न थालिसकेका छन् । महोत्सव र मेलामार्फत यी दुवै पदमार्गबाट पर्यटक घुम्टे लैजाने गरिएको छ । स्तरोन्नति र पक्की पदमार्ग बनाउन गलकोट नगरपालिकाले समेत लगानी गरेको छ । गत वर्ष गण्डकी प्रदेश पर्यटन मन्त्रालयले पनि रु २० लाख लगानी गरेको स्थानीय थम्मन थापाले बताए।

काठेखोला गाउँपालिकाको धम्जादेखि थाप्लेतर्फ जाने सडकमा पनि बजेट विनियोजन गरेर पदमार्ग बनाउने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए। संसारकोट र थाप्ले खण्डमा पनि संयुक्त लगानी गरेर पदमार्ग जोड्ने तयारी छ । तमानखोला गाउँपालिकाले ट्रेकिङ एजेन्सी एशोशिएन ९टान०को सहकार्यमा पदमार्गको रुटसमेत तय गरेको छ । गाउँपालिकालाई फेरो पार्ने गरी तय गरिएको झण्डै ४० किमि लामो पदमार्ग चारदेखि पाँच दिनका लागि यात्रा गर्ने गरी बनाइएको अध्यक्ष जोकलाल बुढाले बताए।

मध्यपहाडी लोकमार्ग प्रयोग गरेर बुर्तिवाङ पुगेपछि पदमार्गको थालनी हुनेछ । उक्त मार्ग बुङ्गादोभान, खुङ्खानी, तमान, लामेला, सोलेडाँडा हुँदै ढोरपाटन पुग्नेछ । “जोखिम मोलेर गाडी चढ्ने र सडकले पहिरो चलाउनुभन्दा पदमार्ग उपयोगी छन्”, बुढाले भने, “मरोरम दृश्य अवलोकन गरेर घुम्ने चाहना धेरैको छ, यहाँ भित्र्याउन सकिन्छ ।”

सो पदमार्ग सञ्चालन हुँदा बागलुङ, म्याग्दी, गुल्मी, प्युठान, रोल्पा र रुकुममा धेरै पर्यटक त्यहाँ पुग्न सक्ने उनले बताए । जैमिनी नगरपालिकाले हाँडीकोटलाई पर्यटकीय गन्तव्य बनाउन पदमार्गका लागि बजेट विनियोजन गरेर काम थालिसकेको छ । गत आव रु सात लाख लगानीमा सिँढी निर्माण थालिसकिएको हो । रासस

ताजा समाचार

सम्बन्धित समाचार