महेन्द्रनगर – कञ्चनपुर जिल्लामा हरेक वर्ष लाखौं बिरुवा उत्पादन गरी राष्ट्रिय/सामुदायिक वन, निजी तथा व्यक्तिगत जग्गामा वृक्षरोपण गरिन्छ। डिभिजन वन कार्यालय र स्थानीय तहको सहकार्यमा लाखौं बिरुवा उत्पादन हुन्छ।
वन कार्यालयको तथ्यांक अनुसार कञ्चनपुर जिल्लामा आर्थिक वर्ष २०३३/०३४ सालदेखि हरेक वर्ष वृक्षरोपण हुँदै आएको छ। गत वर्ष मात्रै स्थानीय तह र डिभिजन वन कार्यालय कञ्चनपुरको सहकार्यमा ७ लाख बढी बिरुवा उत्पादन गरी वृक्षरोपण गरिएको थियो। कञ्चनपुरका अधिकांश स्थानीय तहले वृक्षरोपणलाई प्राथमिकतामा राखेर खाली ठाउँमा बिरुवा रोप्ने गरेको छ।
वृक्षरोपण गर्दा १ हेक्टर जग्गामा करिब १६ सय बिरुवा लगाइन्छ। अहिलेसम्म जिल्लामा २ हजार ५० हेक्टर वन क्षेत्रमा वृक्षरोपण गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरको तथ्यांकले देखाउँछ। तर, कञ्चनपुरमा वृक्षरोपण गरिए अनुसार वनजंगल विस्तार भएको देखिंदैन। वृक्षरोपण गरिसकेपछि संरक्षण गर्ने परिपाटी नहुँदा रोपिएका बिरुवा मर्ने गरेको डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थी बताउँछन् ।
‘यहाँ विभिन्न संघसंस्था लगायत सरकारी कार्यालयले समय–समयमा वृक्षरोपण गरिरहेका हुन्छन्,’उनले भने,‘बिरुवा रोपेपछि कसैले रेखदेख गर्दैन्, त्यसैले वृक्षरोपण गरिए अनुसारको उपलब्धि भएको छैन् ।’ डढेलो र खुल्ला चरिचरन नियन्त्रण गर्न नसक्दा समेत वृक्षरोपण असफल भएको उनको भनाई छ। ‘जथाभावी रुपमा वनजंगलमा आगो लगाउने गरेका छन्, त्यसले वनमा रहेका साना बिरुवा जलेर नष्ट हुन्छन्,’उनले भने, ‘जनचेतनाको कमीले वृक्षरोपण सफल हुन सकेको छैन् ।’ नेपालमा नछिप्पिएका बिरुवा रोप्ने चलन रहेको बताउँदै डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन वन अधिकृत अजयबिक्रम मानन्धरले वृक्षरोपणको सफलताका लागि ३/४ वर्षका बिरुवा रोप्नुपर्ने बताए।
‘यहाँ ३/५ महिनाका बिरुवा रोपिन्छ, ती बिरुवा बाँच्दैनन्, त्यसमाथि हामी कहाँ रोपेपछि हेर्ने चलन पनि छैन्’ उनले भने्, ‘भारत र चीनले ठूला बिरुवा रोप्ने हुँदा उनीहरूको ९० प्रतिशत वृक्षरोपण सफल हुन्छ ।’ पछिल्लो समय डिभिजन वन कार्यालयले बिरुवा संरक्षण तथा पुनःउत्पादनलाई प्राथमिकता दिएको उनी बताउँछन् । नेपालमा २०१५ सालमा काठमाडौँको हात्तीसारमा वृक्षरोपण आयोजनाको कार्यालय स्थापना गरी वृक्षरोपणको शुरु भएको थियो।
‘बिरुवा पुनःउत्पादन गरौं’
मानव जातिलगायत प्राणी जगतलाई जोगाइरहेको पर्यावरण जोगाउन वनजंगलको महत्त्वपूर्ण भूमिका हुन्छ । तर, वनजंगल कसरी जोगाउने ? यस प्रश्नमा हरेक व्यक्तिका फरक–फरक तर्क छन् । कतिपयले वन विकासका लागि वृक्षरोपणलाई अचूक उपाय मान्छन् भने कतिपयले बिरुवा पुनःउत्पादनबाट (बिरुवा आफैं उम्रिएर) वनजंगलको विकास हुने मान्यता राख्छन् । पछिल्लो समय कञ्चनपुरका केही सामुदायिक वनमा बिरुवा पुनःउत्पादनका कार्यक्रम भइरहेका छन्।
वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अन्तर्गत पनि बिरुवा पुनःउत्पादन भइरहेको छ । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाए वृक्षरोपण नगरेरै वन विकास तथा संरक्षण हुने देखिन्छ । वन व्यवस्थापन गरिएका सामुदायिक वनमा बिरुवा पुनःउत्पादन भएर हराभरा वन बनेको छ । वन संरक्षणसँगै बिरुवा पुनःउत्पादनलाई प्राथमिकता दिनुपर्ने हरियाली सामुदायिक वनका कोषाध्यक्ष हिक्मत भण्डारी बताउँछन्।
‘वन क्षेत्रमा चरिचरन, आगलागी र अतिक्रमण रोक्न सके वन विकास गर्न वृक्षरोपण नगरे पनि हुन्छ,’उनले भने,‘वृक्षरोपण भन्दा बिरुवा पुनःउत्पादनबाट वनको हैसियत सुधार गर्न सकिन्छ ।’ हरियाली सामुदायिक वनले वन संरक्षणसँगै बिरुवा पुनःउत्पादनलाई प्राथमिकता दिएको उनको भनाइ छ । हरियाली सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन लागू भएपछि रूखहरूको कटानसँगै संरक्षणमा जोड दिएकाले अहिले बिरुवा पुनःउत्पादन भएर हराभरा भएको उनले जनाए । डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थी पनि वन संरक्षणसँगै बिरुवा पुनःउत्पादनमा जोड दिनुपर्ने बताउँछन्। ‘वनलाई अतिक्रमण र हस्तक्षेपबाट जोगाउने हो भने वृक्षरोपण नगरे पनि प्राकृतिक रूपमै वन विकास हुन्छ,’ उनले भने, ‘खाली चौर तथा बगरमा वृक्षरोपण गर्दा राम्रै हुन्छ ।’