काठमाडौँ – पछिल्लो समय देशभर बाघको संख्यामा वृद्धि आएसँगै सर्वसाधारणमाथिको आक्रमण पनि बढेको छ। विशेषगरी संरक्षित क्षेत्र(बाँके, बर्दिया) वरपर रहेका मानव वस्ती बाघबाट पीडित भइरहेका छन्।
बाँके र बर्दियाका राष्ट्रिय निकुञ्जमा संख्यामा आएको वृद्धिसँगै आहाराको कमी तथा अन्य विभिन्न कारण बाघ मध्यवर्ती क्षेत्र हुँदै मावन वस्तीतर्फ पस्न थालेका छन्। मानव—वन्यजन्तुको यो द्वन्द्वलाई कसरी न्यूनीकरण गर्ने भन्ने विषय अहिले नीति निर्माण र सरकारी अधिकारीहरूको टाउको दुखाइको विषय बनेको छ। विशेषतः बाघको परम्परागत बासस्थान नासिने क्रम बढेसँगै द्वन्द्व पनि बढेको छ।
कात्तिक महिनामा बाघको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत कर्मचारीको मृत्यु भयो । त्यसैगरी असोज १५ गते पाटे बाघको आक्रमणबाट बर्दियामा एक जना महिलाको मृत्यु भयो। बर्दियाको बाँसगढी नगरपालिका–२ स्थित भगवती सामुदायिक वनमा घाँस काट्न गएको बेला पाटे बाघको आक्रमणमा परी ४० वर्षीया गङ्गा सलामी मगरको मृत्यु भएको थियो।
२०७६ भदौ ५ गते बिहीबार बर्दिया जिल्ला गेरुवा गाउँपालिका–४ मा पाटेबाघले आक्रमण गर्दा सोही स्थानका ५६ वर्षीय रामकली शाहीको मृत्यु भएको थियो । उनी घरनजिकै खेतमा घाँस काट्दै गर्दा बाघले आक्रमण गरी घटनास्थलमै मृत्यु भएको थियो।
यो घटना सेलाउन नपाउँदै बर्दियाकै ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँ खानेपानी ट्याङ्की नजिक २०७६ भदौ ८ गते आइतबार बिहान पाटेबाघले आक्रमण गर्दा सोही स्थान बस्ने स्थानीयवासी ७० वर्षीय पहरिया थारूको मृत्यु भएको थियो । बङ्गुरलाई दाना दिन हिँड्नुभएका थारूलाई बाघले आक्रमण गर्दा उहाँको घटनास्थलमै मृत्यु भएको थियो । त्यस्तै गत माघ २१ गते बर्दियाको बढैयाताल गाउँपालिका–२ मा पाटेबाघले आक्रमण गर्दा स्थानीयवासी ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्य भएको थियो।
सोही घटनामा बाघकै आक्रमणमा परी अर्का स्थानीयवासी ३० वर्षीय विजय बुढा सामान्य घाइते भएका थिए । बाघको आक्रमणको घटनाबाट बाँके पनि अछुतो रहेन । बाँकेको खजुरा गाउँपालिका–३ धवलागिरिमा २०७६ जेठ ३ गते सोमबार साँझ तीन जनालाई पाटेबाघले आक्रमण गरेर घाइते बनायो।
यसरी दिनानुदिन बाघको आक्रमण बढ्दै गएपनि यसको समाधान तथा रोकथाम तर्फ भने सम्बन्धित निकायले खासै चासो दिएको देखिँदैन। सरकारले बाघको आक्रमणबाट मृत्यु हुनेको परिवारलाई क्षतिपूर्ति स्वरुप दश लाख दिएपनि बाघको आक्रमणबाट बच्नेतर्फ भने ध्यान दिएको छैन्।
राेकथामकाे उपाय के ?
बाघको बासस्थान, आहार र ‘कनेक्टिभिटी करिडोर’लाई ध्यान दिने हो भने बाघ र मानवबीचको द्वन्द्व कम हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक गोपालप्रसाद भट्टराई बताउँछन्।
उमेर बढेसँगै बाघ एकै ठाउँमा नबस्ने र आफ्नो क्षेत्र तोकेका ठूला बाघले उनीहरूलाई त्यहाँबाट अन्यत्र पठाइदिने भएकाले मानववस्ती तर्फ पुग्ने र सुरक्षाका लागि आक्रमण गर्ने उनको धारणा छ।
मानिसले वनजंगल अतिक्रमण गरेर वन छेउछाउमा बस्नाले पनि बाघको सिकार हुने गरेको उनको धारणा छ। बाघको संख्या बढाउने भनेर नै बढाइएकोमा बासस्थान र उचित आहारतर्फ भने ध्यान दिन नसक्नु मुख्य समस्या भएको उनले जनाए ।
कतिपय स्थानमा बाघजस्तो देखिने अन्य जनावरले आक्रमण गर्दा पनि बाघले नै गर्यो भन्ने बुझाइले पनि बाघको आक्रमणबाट मृत्यु हुनेको संख्या बढेको उनको बुझाइ छ ।
‘बाघ एक ठाउँमा मात्र नबस्ने र संख्यामा वृद्धि आएसँगै उसको क्षेत्र पनि बढ्छ । संरक्षित क्षेत्र बाहेकका वनमा पनि बाघ पुग्ने भएकाले मानिसले जंगल वरपर वा जंगलभित्र बस्दा सतर्कता अपनाउन सके मात्र आक्रमण कम हुन्छ,’ उनले भने, ‘मानिसहरू जथाभावी रुपमा जंगल पस्छन्, जंगल मास्छन्, यस्तो अवस्थामा बाघले सिकारका लागि बाहिर निस्कदा आफूलाई आक्रमण गर्न लाग्यो भन्ने सोचेर मानिसलाई आक्रमण गर्न पनि सक्छ।’
त्यस्तै बाघविज्ञ तथा सदर चिडियाखाना जावलाखेलका प्रमुख चिरञ्जिवी पोखरेल बाघको आक्रमणबाट बच्न वा कमी ल्याउन जनावरको बानी व्यहोराबारे मानिसलाई जनचेतना फैलाउन जरुरी रहेको बताउँछन् ।
कतिपय स्थानमा महिलाले निहुरेर घाँस काट्दा वा दाउरा संकलन गर्दा बाघले अन्य जनावर ठानेर आक्रमण गर्ने गरेको उनले जनाए।
बाघ आफूलाई असर नपरी मानिसलाई त्यतिकै आक्रमण नगर्ने स्वभावको भएकाले मानिसले नै सतर्कता अपनाउनुपर्ने उनको धारणा छ।
यसका साथै भाले बाघले पोथीलाई आफूतर्फ आकर्षण गर्न अन्यसँग लडेर आफ्नो क्षेत्र तोक्ने र हारेको अन्यत्र लाग्ने भएकाले बाटोमा मानवबस्ती भए बासस्थान र पोथी गुमाएको रिसमा मानिसलाई आक्रमण गर्न सक्ने उनले जानकारी दिए।