सम्पादकीय
काठमाडौँ– सामाजिक, साँस्कृतिक तथा वातावरणीय हिसाबले महत्वपूर्ण उपत्यकाको टुँडिखेललाई संरक्षण गर्न शनिबारदेखि ‘अकुपाई टुँडिखेल’ अभियान सञ्चालन गरिएको छ ।
सो अभियानमा स्वतस्फूर्त रूपमा हजारौँ काठमाडौँबासी सहभागी भएका छन् । काठमाडौँ महानगरपालिका र केही राजनीतिक दलले अपेक्षाकृत सहयोग नगरे पनि अभियान भव्य रूपमा सम्पन्न भएको छ । यसले सर्वसाधारणलाई केही सकारात्मक सन्देश दिएको छ । विगतको तुलनामा हामी वातावरणीय मुद्धामा बढी गम्भीर र संवेदनशील भएका छौँ ।
हाम्रो र भावी पुस्ताको अस्तित्वका लागि अहिले नै गम्भीर भएर लाग्न ढिलो भइसकेको महसुस हामीले गरेका छौँ । यो अभियानले त्यो सन्देशलाई अझ बढी जनसमुदाय माझमा पु-याएको छ, जुन सकारात्मक हो । दोस्रो, खुला ठाउँको महत्व र त्यसको आवश्यकता । खुला ठाउँको आवश्यकता कति छ भन्ने विषयमा हामीलाई २०७२ सालको महाभूकम्पले ठूलो पाठ सिकाएको छ । सयौँ पुस्तक पढेर र विश्वविद्यालयमा अध्ययन गरेर पनि प्राप्त नहुने ज्ञान हामीलाई भूकम्पले दिएको छ ।
खुला ठाउँको अभावमा हामीमध्ये कतिपयले दुःख झेल्नु प¥यो भने कतिपय खुला ठाउँमा आनन्दले बस्यौँ । वास्तवमा भूकम्पको समयमा टुँडिखेल नै सर्वसाधारणको सुरक्षित आश्रय स्थल बनेको थियो । सयौँ मान्छे त्यहीँ टुँडिखलमा आश्रय लिए लामो समयसम्म बसे । तर विडम्बना नै मान्नुपर्छ, त्यस लगत्तै हामीले टुँडिखेलको महत्वलाई चटक्क भुल्यौँ । त्यहाँ विभिन्न भौतिक संरचना बनाएर भाडामा लगाउन थाल्यौँ ।
अहिले त्यहाँ बसपार्क र भिडभाड बनाएर राखेका छौँ । भूकम्पछि त्यस्ता सार्वजनिक स्थान मास्ने होइन, अझ बिस्तार गर्ने जिम्मेवारी सरकारी निकायले लिनुपर्ने हो । अतिक्रमणमा परेका अन्य ठाउँ खोजेर खुला स्थान बनाउनुपर्ने हो । तर खुलामञ्च संरक्षणको एजेन्डा नै सरकारी निकायहरूका बीचमा विवाद र प्रतिष्ठाको विषय बन्न गयो । एकातिर ठूलो ठाउँ सेनाको कमाण्डमा रहने, अर्काेतर्फ बर्सपार्क र निर्माण सामग्री थुपार्ने कार्यले खुला ठाउँको संरक्षण त कुरै छाडौँ, यो त प्रदूषण र फोहर उत्पादन गर्ने कारखाना बन्न पुग्यो ।
वास्तवमा रत्नपार्कदेखि भद्रकालीसम्म सबै खाली गराएर, हरियाली सहितको खुला ठाउँ बनाउन अब ढिलो गर्नुहुँदैन र यसका लागि काठमाडौँ महानगरपालिकाले नेतृत्व लिनुपर्छ । यसमा कुनै पनि राजनीतिक दलको स्वार्थ हावी हुनुहुँदैन । वातावरण सबैको साझा एजेण्डा भएकाले विवाद गर्नुपर्ने कुनै कारण देखिँदैन । यति मात्र होइन अब यो अभियानलाई बिस्तार गरेर प्रत्येक टोलटोलमा पु-याउन आवश्यक छ । साथै मिचिएिका सार्वजनिक जग्गाहरूको पहिचान गरेर ती स्थानलाई पार्क र खुल्ला स्थान बनाउन पनि आवश्यक छ ।
भविष्यमा आइपर्ने कुनै विपद्लाई लक्षित गरेर मात्र होइन, वातावरणका हिसाबले पनि अब खुला स्थानको संरक्षण गर्न ढिलो भइसकेको छ । त्यसैले प्रत्येक टोलटोलमा स्थानीयहरू भेला भएर यस्ता अभियानलाई अगाडि बढाउनु आवश्यक छ । अहिले पनि धेरै गाउँ तथा नगरपालिकामा सार्वजनिक जग्गा हडपिएका छन्, त्यसलाई तत्काल फर्काउन आवश्यक छ । टुँडिखेलमा जस्तै सार्वजनिक जग्गामा संरचना बनाएर भाडामा लगाउने कार्य अन्यत्र पनि भइरहेका छन् । यसलाई सम्बन्धित निकायले तत्काल रोक्नु पर्दछ ।