Saturday, September 21, 2024

स्थानीय तहको प्रतिवेदनः विकासले छलाङ मार्दै

जाजरकोट-जिल्लाका सबै स्थानीय तहमा सडकको ट्र्याक खोलिएको प्रतिवेदन सार्वजनिक भएको छ ।

जिल्ला समन्वय समिति, जाजरकोटले जिल्लाका सबै स्थानीय तहलाई बोलाएर प्रगति विवरण पेश गर्न आग्रह गरेपछि यस्तो प्रतिवेदन सार्वजानिक भएको हो ।

भेरी नगरपालिका, नलगाड नगरपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिकामा केही समयअघि सडक पुगेको थियो । स्थानीय सरकार गठन भएदेखि जुनिचाँदे गाउँपालिका, कुशेगाउँपालिका र बारेकोट गाउँपालिकामा सडकको ट्र्याक खुलेको हो । अहिले स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारको पहलमा गाउँगाउँमा सडक निर्माण गर्ने क्रम जारी रहेको छ ।

कुशे, नलगाड, शिवालय, छेडागाड, भेरीका अधिकांश वडामा कच्ची सडक निर्माण भई यातायातका साधनहरु सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख छ । निर्माण गरिएका अधिकांश सडक वातावरणीय प्रभाव मूल्याङ्कन नगरी खनिएको पाइएको छ ।

डोजर चालक नै प्राविधिक भएर खनेका अधिकांश सडक ज्यानमारा भएको स्थानीयवासीको भनाइ छ । विकासको पहिलो आधार भनेको सडक नै हो भन्दै काम गरेका स्थानीय तहले खोपानी, घोडेटो बाटो र भौतिक पूर्वाधारलाई समेत प्राथमिकता दिएको बताएका छन् ।

सडक नपुगको र दुर्गम मानिएको बारेकोट गाउँपालिकामा यसै आर्थिक वर्षमा प्रशासकीय केन्द्र लिम्सामा सडकको ट्र्याक खुलेको छ । नलगाड नगरपालिका–६ र बारेकोट गाउँपालिका–८ स्थित नलगाड जलविद्युत् आयोजनाको ड्याम स्थलमा मात्र ३०० मिटर सडक निर्माण भएमा बारेकोटमा यातायातका साधन चल्न सक्ने बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए।

जिल्लाका अधिकांश ठाउँमा राष्ट्रिय स्तरका सडकहरु जोडिएकाले यहाँ विकासका लागि ठूलो समस्या नभएको सरोकारवालको भनाइ छ । शिवालय गाउँपालिकाले वडाका सबै ठाउँमा सडक पुगेको बताइएको छ । नलगाड नगरपालिकाका अधिकांश सडकमा यातायात सञ्चालन हुनाका साथै जाजरकोट–डोल्पा सडक ९भेरी करिडोर० भित्र पर्दछ ।

जुनिचाँदे गाउँपालिकामा सडक निर्माण कार्य पनि तीव्र गतीमा भएको अध्यक्ष कृष्णबहादुर केसीले बताए। कच्ची सडक निर्माण भएका ठाउँमा सङ्घीय सरकार र प्रदेश सरकारले तुरुन्तै पिचको काम अगाडि बढाउनुपर्ने स्थानीय सरकार प्रमुखहरुको माग रहेको छ । जिल्लामा सबैले ठूलो समस्या भनेको सञ्चारको रहेको औँल्याएको छ । फोन सेवा नहुँदा दैनिक काम गर्न मुस्किल भएको स्थानीय तहले बताएका छन् । विप्लव समूहको चन्दा आतङ्क र कर्मचारी नहुँदा काम गर्न परेको जटिलताका विषयमा समेत चर्को कुरा उठेको छ ।

सबै स्थानीय तहमा बैंक पुगेकाले काम गर्न सहज भएको पनि समीक्षामा प्रगतिको विवरण पेश भएको छ । गाउँगाउँमा रहेका सुरक्षा निकायमा दरबन्दी अनुसारका सुरक्षाकर्मी नहुँदा सेवा प्रवाहमा समस्या भएको अर्को विवरणसमेत सार्वजनिक भएको छ ।

जिल्लाको भेरी नगरपालिकामा तरकारीको पकेट क्षेत्रका साथै स्पार्ट सिटी, मालिकामा पर्यटन आकर्षित गर्न भ्यू टावर निर्माण लगायतका काम भइरहेका छन् ।

त्यस्तै पर्यटकीय क्षेत्रको विकासका लागि पदमार्ग निर्माण, वन संरक्षणका लागि विशेष योजनासमेत कार्यन्वयनमा ल्याइएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए। नलगाड नगरपालिकामा लसुन, टिमुर र महको पकेट क्षेत्र घोषणा गरी काम तीव्र गतिमा भएको जानकारी दिइएको छ । वन मन्त्रालयको अग्रसरतामा जिल्लाका नलगाड, बारेकोट र कुशे गाउँपालिकालाई मिलाएर संरक्षित क्षेत्र बनाउने कार्य तीव्र गतिमा अगाडि बढेको छ ।

समीक्षा कार्यक्रममा पुगेका वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले स्थानीय तहमा विकास गर्दा प्राकृतिक स्रोतसाधनलाई संरक्षण गरी विकास गर्न आग्रह गरे । विकास निर्माण गर्दा योजना प्राथमिकीकरण गरी काम गरेमा हामीले देखेको समृद्धि र विकास टाढा नभएको मन्त्री बस्नेतको भनाइ छ ।

त्यस्तै प्रतिनिधिसभा सदस्य एवं पूर्वशान्ति तथा पुननिर्मार्माणमन्त्री सत्य पहाडीले सङ्घीय व्यवस्थाको फाइदा देखिन थालेको बताए। रासस

ताजा समाचार

सम्बन्धित समाचार