Wednesday, October 23, 2024

वातावरणमैत्री चारकोल उत्पादन बन्द

नवीन लुईटेल –

भूकम्पपछिको पुर्ननिर्माणमा कामदार ब्यस्त हुँदा ललितपुरको घुसेलमा चारकोल उत्पादन बन्द भएको छ । वनजंगलमा खेर गइरहेका झाडी बुट्यानबाट तयार पारिने चारकोललाई वातावरणमैत्री इन्धनका रुपमा लिइन्छ । घुसेलको गुर्दुमपाखा सामुदायिक वन उपभोक्ता समुहले उत्पादन गरिरहेको चारकोल कामदारको अभावले रोकिएको हो ।

ईटा उद्योगका लागी चाहिने आवश्यक कोइलाको माग घटाउनका लागी वनमा खेर गइरहेका हाँगाविगा, झाडी आदीवाट चारकोल बनाउने गरिन्छ । ‘२०७० सालबाट यहाँ चारकोल उत्पादन गर्न थालेका थियौँ’ गुर्दुमपाखा सामुदायीक वनका अध्यक्ष शेरबहादुर स्याङ्ताङले भने, ‘अहिले आफ्नै घर बनाउन र अरुको घर ज्यालामा बनाउन जानमा ब्यस्त छन् ,त्यसैले चारकोल उत्पादन कार्य रोकिएको छ । ’

उनका अनुसार २०७० देखी २०७१ सम्म १८ टिप चारकोलको बेचविखन भएको थियो । ‘हामीले १० लाखको चारकोल बेच्यौ,सुरुमा घाटा भएपनि चलाउदै आएका थियौ’, उनले भने ‘वातावरणमैत्री चारकोलले विस्तारै वजार लिदै गएको थियो,भुकम्प गएपछि यसको उत्पादन रोकियो ।’

उनका अनुसार फेरी चारकोल उत्पादनको तयारी सुरु भएको छ । यो सामुदायिक वनले प्रति किलो ६५–७० रुपैयाँमा बेच्ने गरेको थियो । यसको प्रयोग शहर बजारका होटल तथा रेष्टुराँमा पनि हुने गरेको छ । यसैगरी सेकुवा बनाउन तथा कोठा तातो पनि पनि प्रयोग गर्ने गरिएको छ । इटा उद्योगमा प्रयोग हुने पथ्थर कोइलाको विकल्पका रुपमा पनि यसलाई प्रयोग गर्न सकिन्छ । अब स्थानिय उपभोक्ताहरु फेरी यसको उत्पादनमा लाग्ने भएका छन् ।

के हो चारकोल ?

दाउरा , काठ र सुकेका वायोमासबाट चारकोल बनाइन्छ । यसलाई गोल पनि भनिन्छ । नेपालमा करिब ८ सय ईटा उद्योगहरुले ४ लाख ५० हजार टन कोइला खपत गरिरहेका छन् र यसको लागी १० अरब भन्दा बढि रकम खर्च भैरहेको तथ्यांक छ । नेपालमा रहेका १८ हजार १ सय ३३ सामुदायिक वनबाट वार्षीक रुपमा वन सरसफाई अभियान अन्र्तगत लाखौँ टन झाडी हांगाविंगा आदीबाट हजारौँ टन चारकोल बनाउन सकिन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार